सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन बिनाअनुमति ड्रोन उडाउन पाइने विशेष व्यवस्था गरेको छ।
साथै, उद्धारको पर्खाइमा रहेका नागरिकलाई हेलिकोप्टरको ध्यानाकर्षण गराउन आगो बालेर धुवाँ निकाल्न र ह्वाट्सएपमार्फत आफ्नो लोकेसन पठाउन आग्रह गरिएको छ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले संकटग्रस्त घोषित ६ जिल्लामा उद्धार प्रयोजनका लागि कसैसँग ड्रोन भए अनुमति नलिई उडाउन सकिने जानकारी दिए।
उद्धारमा सघाउन चाहने ड्रोन सञ्चालकहरूले सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गरेर समन्वय गर्नुपर्नेछ।
बाढीमा फसेका नागरिकहरूलाई उद्धार टोलीको हेलिकोप्टर आकर्षित गर्न आगो बालेर धुवाँ निकाल्नसमेत सरकारले अपिल गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार प्रविधिको पहुँच भएका नागरिकले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ह्वाट्सएपमार्फत आफ्नो जियो-लोकेसन सेयर गरेरसमेत उद्धारमा सहयोग पुर्याउन सक्नेछन्।
सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै सम्पूर्ण सञ्चार तथा सुरक्षा संयन्त्रलाई उद्धार कार्यमा केन्द्रित हुन निर्देशन दिएको छ।
उद्धार कार्यका लागि ११ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको र छिमेकी मुलुकहरू चीन र भारतसँग पनि आवश्यक समन्वय भइरहेको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित: १० भाद्र २०८३ १४:४० बुधबार





