१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

१८८ किमी प्रतिघण्टाको गतिमा बगेको थियो भदौ १० को बाढी, घटनास्थलबाट रसुवागढी ७ मिनेटमै

जलवायु परिवर्तनले उच्च हिमाली वातावरणमा दबाब बढाउँदै जाँदा भदौ १० को विनाशकारी घटनाका लागि अनुकूल अवस्था बनेको एक वृहत् वैज्ञानिक अध्ययनले देखाएको छ।

बिहीबार सार्वजनिक गरिएको सो अध्ययनले हिमनदी कमजोर हुनु, लामो समयसम्म जमेर रहेको जमिन र चट्टान पग्लिनु तथा पर्वतीय चिरामा पानी छिर्दा दबाब बढ्नुका कारण हिम-चट्टान स्खलनको घटना भएको औंल्याएको छ।

जलवायु परिवर्तनले प्राकृतिक विपद्मा पारेको प्रभावको वैज्ञानिक अध्ययन गर्ने अन्तर्राष्ट्रिय अनुसन्धान समूह ‘वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए)’ ले गरेको हालसम्मकै वृहत् अध्ययनले यस्तो देखाएको हो।

अध्ययनअनुसार जलवायु परिवर्तन भदौ १० को विपद्को एकमात्र कारण नभए पनि दशकौँदेखिको मानवजन्य तापक्रम वृद्धिले हिमाली वातावरणलाई क्रमशः कमजोर बनाउँदै लगेको र यस्तो कमजोर वातावरणमा भौगर्भिक तथा भूकम्पीय जोखिमसँग जोडिएर एउटा घटनाले अर्को श्रृंखलाबद्ध विपद् निम्त्याउने सम्भावना बढेको छ।

२४ जना अन्तर्राष्ट्रिय वैज्ञानिकको टोलीले हिमनदी विज्ञान, जलविज्ञान, जलवायु विज्ञान र भूकम्प विज्ञानलगायत विभिन्न क्षेत्रका प्रमाणको विश्लेषणका आधारमा भदौ १० को घटना कसरी विकसित भयो भन्ने अध्ययन र समीक्षा गरेको हो।

‘यो विपद् चरम मौसमी घटना थिएन, तर दीर्घकालीन परिवर्तनमा जलवायु परिवर्तनका स्पष्ट प्रभाव देखिन्छन्,’ अध्ययनमा संलग्न इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता बेन क्लार्कले भनेका छन्, ‘जलवायु परिवर्तनले उच्च हिमाली वातावरण परिवर्तन गरिरहेको छ र यसले पहाड भत्किन सक्ने विभिन्न सम्भावित कारणलाई प्रभावित गरिरहेको छ।’

लाङटाङ लिरुङ क्षेत्रमा करिब ५ हजार १५० मिटरको उचाइमा रहेको करिब दुई वर्ग किलोमिटर क्षेत्रफलको चट्टानी पर्खाल हिमनदीसहित भत्किएको थियो। उक्त चट्टान र बरफ करिब १ हजार ४ सय मिटर तल, ३ हजार ७५० मिटरको उचाइसम्म खसेको अध्ययनले देखाएको छ।

ठूलो चट्टान र हिउँ खस्दा उत्पन्न भएको ऊर्जा यति शक्तिशाली थियो कि त्यसबाट भूकम्पीय तरंगसमेत उत्पन्न भएको थियो। प्रारम्भमा घटनालाई भूकम्प भएको ठानिनुको एउटा कारण यही थियो।

हिम-चट्टानको स्खलनपछि हिमपहिरो र गेग्रानसहितको बाढीमा परिणत भयो। चट्टान र हिउँबीचको घर्षण तथा हिउँ पग्लिने प्रक्रियाबाट ठूलो मात्रामा पानी थपिएको वैज्ञानिकहरूको अनुमान छ। यसमा हिमनदीको बरफ, हिमनदीमुनिको पानी, पर्माफ्रोस्टमा सञ्चित पानी तथा गेग्रानभित्र थुनिएको बरफ र पानीसमेत मिसिएको हुन सक्ने अध्ययनमा उल्लेख छ।

बाढी अत्यन्त तीव्र गतिमा तलतिर बगेको थियो। घटनास्थलबाट करिब २२ किलोमिटर तल रहेको रसुवागढीमा बाढी सात मिनेटमै पुगेको थियो। यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर अनुमान गरिएको छ। त्यसपछि टिमुरे र स्याफ्रुबेँसी हुँदै बाढी बेत्रावती पुगेको थियो।

करिब २०० किलोमिटर तल रहेको देवघाटसम्म बाढी सात घण्टाभन्दा कम समयमा पुगेको अध्ययनले देखाएको छ। नदीको बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्डसम्म पुगेको थियो। यो बहाव सामान्य भन्दा दुई गुणाभन्दा बढी हो।

चार घण्टाभन्दा कम अवधिमा नदी प्रणालीबाट करिब दुई करोड घनमिटर अतिरिक्त पानी बगेको र करिब तीन करोड पाँच लाख घनमिटर गेग्रान तथा अवशेष थुप्रिएको अनुमान गरिएको छ।

भदौ ३१ सम्मको विवरणअनुसार विपद्‌मा १ हजार ४ सयभन्दा बढीको मृत्यु पुष्टि भएको छ भने ५ हजारभन्दा बढी बेपत्ता छन्। छ जिल्लाका १७ स्थानीय तहका करिब ८४ हजार २७० जना प्रभावित भएका छन्। १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

पर्माफ्रोस्ट पग्लिँदा पहाड कमजोर

अध्ययनले जलवायु परिवर्तनले हिमाली भू-पर्यावरणमा पारेको प्रभावमध्ये पर्माफ्रोस्ट क्षयलाई प्रमुख प्रक्रिया मानेको छ। पर्माफ्रोस्ट भनेको लामो समयसम्म जमेर रहने जमिन र चट्टान हो। यसले पहाडी संरचनालाई एकसाथ बाँधेर राख्न मद्दत गर्छ।

तापक्रम बढ्दा चट्टानका चिराभित्र रहेको हिउँ पग्लिन्छ। हिउँ पग्लिएपछि चट्टानलाई बाँधेर राख्ने प्राकृतिक आधार कमजोर हुन्छ। पग्लिएको पानी चिराभित्र पस्दा पानीको दबाबसमेत बढ्न सक्छ। यसले पहिल्यै कमजोर बनेको चट्टानी ढलानलाई थप अस्थिर बनाउन सक्छ।

वैज्ञानिकहरूले भदौ १० मा भत्किएको हिम-चट्टानको पर्खाल कमजोर बनाउन तापक्रम वृद्धि र पर्माफ्रोस्ट क्षयले भूमिका खेलेको हुन सक्ने बताएका छन्।

हिमनदीको आकार घट्दै जानु अर्को महत्वपूर्ण कारण हो। अध्ययनअनुसार हिमालयका केही क्षेत्रमा हिमनदीको मोटाइ घट्ने दर प्रतिवर्ष ०.५ मिटरसम्म पुगेको छ। लाङटाङ–लिरुङ हिमनदी पनि पछिल्ला दशकमा अघिल्ला दुई शताब्दीको तुलनामा निकै तीव्र गतिमा क्षयीकरण भएको छ।

हिमनदी पातलिँदा आसपासका हिम-चट्टानी पर्खाललाई स्थिर राख्ने यसको प्राकृतिक ‘सहारा’ घट्न सक्छ। साथै, हिमनदी पग्लिँदा अस्थिर भूभागमा प्रवेश गर्ने पानीको मात्रा बढ्न सक्छ। यी प्रक्रियाले तत्काल पहाड भत्काउने अवस्था नल्याए पनि लामो समयसम्म पहाडी संरचनालाई कमजोर बनाउन सक्छन्।

शून्य डिग्रीको सीमारेखा माथि सर्दै

अध्ययनले तापक्रम बढेसँगै शून्य डिग्री समताप रेखा अर्थात् तापक्रम करिब शून्य डिग्री सेल्सियस रहने उचाइ पनि माथि सर्दै गएको देखाएको छ। यो सीमारेखा प्रत्येक दशकमा करिब १०० मिटर माथि सरेको अध्ययनमा उल्लेख छ।

यसको अर्थ विगतमा वर्षभरि जमेर रहने जमिन र चट्टान अहिले लामो समयसम्म न्यानो र पग्लिने अवस्थामा रहन थालेका छन्।

‘जीवाश्म इन्धन जलाउँदा उत्पन्न जलवायु परिवर्तनले जम्ने सीमारेखालाई प्रत्येक दशकमा करिब १०० मिटर माथि धकेलिरहेको छ,’ अध्ययनमा संलग्न नेदरल्यान्डको उट्रेच विश्वविद्यालयका अनुसन्धानकर्ता वाल्टर इमरजेलले भने, ‘यसले वर्षभरि जमेर रहने जमिन र चट्टानलाई विगतभन्दा लामो समयसम्म र बढी न्यानो अवस्थामा पग्लिन बाध्य बनाइरहेको छ।’

वर्षाको चरित्रमा आएको परिवर्तनले पनि जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ। तापक्रम बढ्दा हिउँ पर्ने क्षेत्र माथि सर्छ र विगतमा हिउँ पर्ने उचाइमा समेत वर्षा हुन सक्छ। चट्टानका चिराभित्र वर्षाको पानी सजिलै प्रवेश हुँदा चट्टानमा पानीको दबाब बढ्न सक्छ।

अध्ययनअनुसार सन् २०२५ को अक्टोबरमा घटनास्थलमा असाधारण रूपमा धेरै वर्षा भएको थियो र त्यसपछि असामान्य रूपमा न्यानो अवस्था देखिएको थियो।

जलवायु परिवर्तनको प्रभावसम्बन्धी विश्लेषणअनुसार मानवजन्य तापक्रम वृद्धिले औद्योगिक युगअघिको अवस्थाको तुलनामा विपद् भएको क्षेत्रमा जुलाई–अगस्टको तापक्रममा करिब १.५ डिग्री सेल्सियस अतिरिक्त वृद्धि गराएको छ। वार्षिक आधारमा यस्तो वृद्धि करिब २ डिग्री सेल्सियस रहेको सो अध्ययनले देखाएको छ।

भू-गर्भसँग जलवायुको अन्तरसम्बन्ध

अध्ययनले रसुवाको विपद्लाई भूगर्भ, भूकम्पीय इतिहास, बरफ, पानी र जलवायुबीचको जटिल अन्तरसम्बन्धका रूपमा व्याख्या गरेको छ।

पहाडको भौगर्भिक संरचनाले ढलान कहाँ र कसरी भत्कियो भन्ने निर्धारण गरेको थियो। सन् २०१५ को ७.८ म्याग्निच्युडको भूकम्पले पहाडलाई कमजोर बनाएर दीर्घकालीन अस्थिरतामा योगदान गरेको हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ। यद्यपि सन् २०२६ को घटनामा उक्त भूकम्पको वास्तविक योगदान कति थियो भन्ने अझै पुष्टि भएको छैन।

यसकारण भदौ १० को विपद्को व्याख्या गर्दा जलवायु परिवर्तनले भू-गर्भीय कारणलाई विस्थापित गरेको भनेर बुझ्न नहुने अध्ययनले स्पष्ट पारेको छ। बरु तापक्रम वृद्धिले भूगर्भीय जोखिम उत्पन्न हुने पृष्ठभूमिगत अवस्थालाई परिवर्तन गरेको हो।

बरफका प्राकृतिक बन्धन कमजोर हुनु, पर्माफ्रोस्ट पग्लिनु, हिमनदी पातलिनु, पानीको उपलब्धता परिवर्तन हुनु र हिउँ–वर्षाको सीमारेखा माथि सर्नुले पहाडी प्रणालीमा जोखिम थपेको छ। यसबाट एउटा पहाडी पतनले हिमपहिरो, गेग्रान बाढी र आकस्मिक बाढीजस्ता एकपछि अर्को जोखिम निम्त्याउने संयुक्त विपद् श्रृंखला बन्न सक्छ।

नेपाललाई नयाँ जोखिम व्यवस्थापन आवश्यक

डब्लुडब्लुए अध्ययनले केही हिमाली जोखिमलाई अनुकूलनका उपायबाट मात्र रोक्न नसकिने पनि देखाएको छ। भविष्यमा तापक्रम वृद्धि सीमित गरिए पनि विगतमा बढेको तापक्रमको प्रभावका कारण हिमनदी र पर्माफ्रोस्ट क्षय हुने प्रक्रिया जारी रहन सक्छ।

‘तापक्रम वृद्धिको प्रत्येक अंश महत्वपूर्ण छ,’ अध्ययनका लेखकसमेत रहेका क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक मन्जित ढकालले भने।

उनले उत्सर्जन घटाउने काम तीव्र बनाउन, जटिल हिमाली जोखिम बुझ्न थप लगानी गर्न, अनुगमन र पूर्वसूचना प्रणाली बलियो बनाउन, जलवायु-उत्थानशील विकास अघि बढाउन तथा नेपालजस्ता देशका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त बढाउन आवश्यक रहेको बताएका छन्।

हिमाली नदी र यस्ता विपद्का प्रभाव राष्ट्रिय सीमाभन्दा बाहिरसम्म पुग्ने भएकाले नेपाल, चीन र भारतबीच सीमापार सहकार्य आवश्यक रहेको अध्ययनले औंल्याएको छ।

हिमनदीको अवस्था, वर्षा, नदीको जलस्तर, पहाडी ढलानको अस्थिरता तथा अन्य जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्न सके नदीको पूरै तल्लो क्षेत्रसम्म पूर्वसूचना पुर्‍याउन सकिन्छ।

विपद्ले बस्ती र पूर्वाधार विकासको चुनौती पनि देखाएको छ। सीमित बसोबासयोग्य जमिन, बढ्दो जनसंख्या र नदी उपत्यकामा आर्थिक निर्भरताका कारण जोखिमयुक्त क्षेत्रबाट मानिस तथा पूर्वाधारलाई सहजै स्थानान्तरण गर्न सम्भव हुँदैन। सुरक्षित विकल्प सीमित भएका हिमाली समुदायका लागि अनुकूलनका उपायमा पनि यही कारण सीमा रहेको अध्ययनले जनाएको छ।

विगतमा भएको तापक्रम वृद्धिप्रति हिमाली प्रणालीले ढिलो प्रतिक्रिया दिने भएकाले केही जोखिम अहिले नै प्रणालीमा गाँसिइसकेको अध्ययनको निष्कर्ष छ।

त्यसैले हिमाली जोखिम व्यवस्थापनमा तत्कालीन मौसम मात्र होइन, दीर्घकालीन जलवायु परिवर्तनले हिमनदी, पर्माफ्रोस्ट, चट्टान र पानीको प्रणालीमा ल्याइरहेको परिवर्तनलाई समेत समेट्नुपर्ने देखिन्छ।

प्रकाशित: १ आश्विन २०८३ १९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App