नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको एकता कायम गर्न १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर संवाद अघि बढाउन सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनुअघि पार्टीका सबै पक्षबीच सहमति र एकताको वातावरण बनाउनुपर्ने धारणा राखेका हुन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा पार्टीका अग्रज नेताहरूसँग तत्काल वार्ता र संवाद सुरु गर्न थापालाई सुझाव दिएका छन्। पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको विश्वास रहेको उनले बताएका छन्।
खड्काले छुट्टाछुट्टै अधिवेशनको प्रक्रिया अघि बढेमा कांग्रेसभित्र विभाजनको अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्। उनका अनुसार दुईवटा अलग–अलग अधिवेशन रोक्न नसके पार्टी विभाजन रोक्न कठिन हुन सक्छ।
कांग्रेसमा विभाजनको अवस्था सिर्जना भए संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक दलहरूमा समेत त्यसको प्रभाव पर्न सक्ने आशंका खड्काले व्यक्त गरेका छन्। उनले पछिल्ला घटनाक्रमले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको दाबी गर्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानप्रति चिन्ता व्यक्त गरेका छन्।
महाधिवेशनको प्रक्रिया अघि बढाउँदा कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण समस्या नपर्ने भन्दै खड्काले थापालाई निर्णायक कदम चाल्न आग्रह गरेका छन्।
‘बितेका घटनाक्रमबाट गहिरो शिक्षा लिँदै निर्मम समीक्षा गरेर तत्काल निर्णायक र साहसिक कदम चाल्नुस्,’ उनले भनेका छन्, ‘सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्।’
पार्टी एकताका लागि आफू व्यक्तिगत महत्वाकांक्षाबाट मुक्त भएर आवश्यक त्याग गर्न र इमानदार सहयोग गर्न तयार रहेको पनि खड्काले बताएका छन्। आफूले राखेका विश्लेषण र धारणा गलत साबित भए त्यसबाट आफू सबैभन्दा खुसी हुने उनको भनाइ छ।
प्रकाशित: १ आश्विन २०८३ १९:०८ बिहीबार





-600x400.jpg)