२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

वर्षाले पहाडी भेगसँग सदरमुकामको सम्बन्ध विच्छेद

सामान्य वर्षा हुने बित्तिकै भत्केर हैरान बनाउने उदयपुरका पहाडी भेगका कच्ची सडकहरू यस बेला बेहाल अवस्थामा पुगेका छन्।

अधिकतर कच्ची भएकाले वर्षायाममा पहाडी भेगका सडकहरूको यात्रा कहरमा बद्लिने गरेको छ।

अघिल्लो दिनको सामान्य वर्षाबाटै धेरैजसो कच्ची सडकहरू अवरुद्ध हुन पुगेका छन्। वर्षाले भिजेको माटो पहिरोको रूपमा खसेर पुर्ने गरेको छ भने पानी जमेर हिलाम्य हुने र सडकका डिल भत्केर साना बोलेरो जिपसमेत चल्न नसक्ने अवस्था सृजना भएको छ।

अधिकतर कच्ची सडकहरूको नाली निर्माण नहुनुले पहिरो र हिलो नै प्रमुख समस्या हुने गरेको यातायात व्यवसायीहरू बताउँछन्।

सदरमुकाम गाईघाटदेखि रौतामाई हुँदै लिमचुङबुङको जाँते आउजाउ गर्ने बोलेरो चालक प्रेम कार्कीको अनुभवमा सडक बिग्रनुको मुख्य कारण नाली निर्माण नहुनु र नियमित मर्मत सम्भार नगर्नुले हो।

कच्ची सडकहरू बिग्रनुमा नाली नहुनुलाई मुख्य कारण देख्ने चालक कार्कीले नाली नभएकै कारण पानी जमेर हिलाम्य हुने र सडकको डिल भत्कने तथा पहिरो जाने गरेको बताए।

वर्षाले ठाउँ ठाउँमा पहिरो जाने, भत्कने र खाल्डाखुल्डीमा पानी जमेर हिलाम्य हुने भएपछि पहाडी भेगको सदरमुकामसँगको यातायात सम्बन्ध विच्छेद हुने गरेको छ।

कहिलेकाहीँ लगातार दुई ३ दिन वर्षा भयो भने त साता दिनसम्म यातायात अवरुद्ध हुने गरेको चालकहरू बताउँछन्। गाईघाट जाँते गर्ने अर्का बोलेरो व्यवसायी राजेन्द्र राईले पहाडका सडक घुम्ती, साँघुरा र कच्ची हुनुका साथै नाला निर्माण नगर्दा ठूला सवारी साधन आउजाउ गर्नै नसक्ने र बोलेरो पनि कतिपय अवस्था उत्पन्न हुने गरेको बताए।

पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका भित्री सडकहरू कच्ची र नयाँ छन्। दशकअघि निर्माण गरिएका सडकहरूमा पनि नाला बनाइएको छैन।

एकातिर घुम्ती र साँघुरो, अर्का तिर नाला नहुँदा वर्षायाममा स्वाभाविक रूपमा कच्ची सडकहरू अवरुद्ध हुने गरेको चालकहरूको भनाई छ। दशकअघि स्थानीय तह पुनर्संरचना हुनुअघि बनेका सडकहरू बिना इन्जिनियरिङका भएकाले पनि बारम्बार भत्कने बिग्रने समस्या दोहोरिइरहने गरेको छ।

०७४ को स्थानीय तह निर्वाचनपछि गाउँ तथा नगरपालिका गठन भएयता बनेका सडकहरू भने प्राविधिक इस्टीमेटकै आधारमा बनाइएका छन्। तर, पर्याप्त बजेट स्रोतको अभावमा न्यून लागतमा धेरै काम गर्नेगरि बनेका अधिकांश सडकहरू काम चलाउ मात्र छन्। हुन त गाउँपालिका मात्र नभएर नगरपालिकाका पहाडी भेगका सडकहरूको हालत पनि उस्तै छ।

सदरमुकाम त्रियुगा नगरपालिकाका पहाडी वडाहरू १४, १५ र १६ वडाका भित्री सडकहरु सबैको हालत उस्तै छ। उता कटारी नगरपालिकाका पहाडी भेगका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाका भित्री सडकहरूको अवस्था पनि त्यो भन्दा फरक छैन। 

चौदण्डीगढी नगरका १, २, ८ नं. वडा पहाडी भेगमा पर्छन्। ती वडाका भित्री सडकहरूको पनि अवस्था उस्तै छ भने बेलका नगरपालिकाका पहाडी भेगका वडाहरू ५, ६, ७ र ८ नं. वडाका सबै सडकहरू कच्ची नै रहेको र स्थिति त्यस्तै रहेको यातायात व्यवसायीहरू बताउँछन्।

८ स्थानीय तह रहेको उदयपुरलाई पूर्वमा बेलकादेखि चौदण्डीगढी, त्रियुगा, उदयपुगढी र कटारी नगरपालिकालाई मदन भण्डारी लोकमार्गले बीच भागमै चिरेको छ भने रौतामाईको ७ नं. वडालाई थोरै छोएको छ ।गाउँपालिकालाई मदन भण्डारी लोकमार्गले छोएको छ।

सो लोकमार्ग अस्फाल्ट प्रविधिको पक्की भएकाले त्यसबाट शाखा खोलेर अन्यत्र भूभागलाई कच्ची सडकले जोडिएको छ। रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङका आन्तरिक सडकहरू सबै कच्चीमै सीमित हुनु परेको छ।

खासगरि कच्ची मात्र सडक भएका स्थानीय तहहरुमा वर्षायामले यातायात आउजाउमा धेरै कठिनाइ निम्त्याउने गरेको स्थानीय बताउँछन्।

त्यसो त समथर भेगका कच्ची सडकहरू पनि सहज छैनन्। पालिका मुकाम बजार आसपासका सीमित सडकमा कालोपत्रे गरिए पनि दुरदराजका वडा र गाउँ बस्ती जोडिएका सडकहरू अहिले पनि समस्याग्रस्त नै छन्।

वर्षायाममा नदी, खोला, खहरेले केही समय दुःख दिने गरे पनि पछिल्लो समय पुल पुलेसा र सडकहरू पनि ग्राबेल र नाला निर्माण भइसकेकाले पहाडी भेगको दाँजोमा तराई र समथर ठाउँका सडकहरू निकै सहज हुने गरेका छन्।

हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले हरेक वर्षायाममा तराईभन्दा पहाडी भेगको यातायात आउजाउमा कठिनाइ हुने गरेको जनाएको छ। आफ्नो क्षेत्रभित्रका सडकहरू बेला बेलामा मर्मत सम्भार गर्न तथा हेरालु राखेर आपत्कालीन मर्मत गर्ने गर्न स्थानीय तहहरुले ध्यान दिनुपर्ने सुझाव व्यवसायीहरूको छ। त्यसो गरेमा हरेक सडक सञ्चालन गर्न अहिलेजस्तो जटिल समस्या नआउने केन्द्रका अध्यक्ष ओमभक्त मैनालीको सुझाव छ।

प्रकाशित: २० श्रावण २०८३ १७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App