१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

देशैभरि वर्षा, जनजीवन प्रभावित

तीनदेखिको लगातार वर्षाले काठमाडौं उपत्यकासहित देशभरि जनजीवन कष्टकर बनेको छ। मौसमविद्हरूका अनुसार बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय चक्रको प्रभावले बुधबारदेखि देशभर वर्षा भइरहेको छ।

वर्षा कारण सबै ठाउँमा खोलानाला र नदी बढेका छन् भने आवतजावत ठप्पझैं छ। मुख्यमुख्य सडकहरू अवरुद्ध छन्। काठमाडौं उपत्यका भित्रिने प्रायः सडक बन्द छन्। काठमाडौं बाहिरका प्रायः सबै सडक अस्तव्यस्त छन्। बाटो बन्द भएपछि काठमाडौंबाट बाहिरिने मालवाहक सवारीसाधन नागढुंगामै रोकिएका छन्। यसबाट कलंकीदेखि नागढुंगासम्म सवारीसाधनको लाइन देख्न सकिन्छ। दिउँसो सवारी चलेका राजमार्गहरूमा समेत रातको सयमा सवारी चलाउन बन्द गरिएको छ। उपत्यकाका नदीखोलामा शुक्रबारदेखि पानीको बहाव बढेको छ।

वर्षा, हावाहुरी र हिमपातका कारण खोला, नाला र नदीमा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ। बाढीपहिरो, वर्षाका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

नेपाल प्रहरीले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार साँझसम्म प्रमुख १५ वटा राजमार्ग अवरुद्ध छन्। कृष्णभिरमा पुन पहिरो गएपछि मुग्लिन–नागढुंगा सडक ठप्प छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले शनिबारदेखि काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा क्रमिक रूपमा मनसुन केही कमजोर हुँदै जाने र पश्चिमी क्षेत्रमा अरू सक्रिय हुने बताइन्।

विभागक मौसमविद् हरिप्रसाद दाहालले आइतबार रातिदेखि मात्र मौसममा सुधार हुने बताए। उनका अनुसार शनिबार लुम्बिनी र गण्डकीमा भारी वर्षा हुने छ। विभागका अनुसार शनिबार देशभर अधिकांश बादल लाग्ने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोसी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।

बढी वर्षा पाल्पामा

मौसमविद् दाहालका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पामा भएको देखिएको छ। पाल्पामा २५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। यो भनेको अति धेरै वर्षा हो। विभागका अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटर वर्षा भयो भने मध्यम वर्षा भन्ने गरिएको छ। ५० देखि ५० मिलिमिटर वर्षा भयो भने भारी वर्षा र १०० देखि २०० मिलिमिटरसम्म भएको वर्षालाई धेरै वर्षा भन्ने गरिन्छ। २०० मिलिमिटरभन्दा बढी भएको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको छ।

छोटो समयमा निकै ठुलो वर्षा भएपछि त्यसलाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ। यस हिसाबबाट पछिल्लो समायमा काठमाडौंमा भारी वर्षा भएको छ। विभागका अनुसार काठमाडौंमा ७३ दशलमलव ५ मिलिमिटर वर्षा भएको छ। घोराहीमा ७७ दशमलव ३ तथा पोखरामा १०५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। यसैगरी डडेलधुरमा १४ दशमलव ९ मिलिमिटर वर्षा भएको छ।

खराब मौसमका कारण न्यूनतम भिजिबिलिटी नहुँदा शुक्रबार आन्तरिक हवाई सेवा पनि प्रभावित भएको छ। लुक्लासहितका विमानस्थलमा दिनभर उडान हुन सकेन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भरतपुर, पोखरा, लुक्ला, तुम्लिङटार, सिमरा र सुर्खेत विमानस्थलमा बिहानैदेखि उडान हुन सकेन। उडान नहुँदा यात्रु पनि प्रभावित भए।

काठमाडौं उपत्यकाको आकाशमा बाक्लो हुस्सु लागेका कारण त्रिभुवन विमानस्थलबाट केही आन्तरिक उडान उडान हुन सकेन। दिउँसो केही समय आकाश खुलेको बेला भने त्रिभुवन विमानस्थलबाट इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गतका हवाई उडान भए तर न्यून भिजिबिलिटीका कारण भिजुअल फ्लाइट रुल्स (भिएफआर) अन्तर्गतका उडान सबै प्रभावित भए। त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार काठमाडौंमा भिजिबिलिटीको मात्रा बिहान आठ सय मिटरभन्दा कम थियो। दिनभर पनि भिजिबिलिटी यस्तै रह्यो। उडानका लागि भिजिबिलिटीको मात्रा न्यूनतम १६ सय मिटर हुनुपर्दछ।

खराब मौसमका कारण काठमाडौंबाट लुक्लाका लागि सीता एयर, तारा एयर र समिट एयरले उडान भरेनन्। त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको शुक्रबारको आन्तरिक उडान तालिका अनुसार काठमाडौंबाट विभिन्न विमानस्थलका लागि १ सय ३४ वटा उडान हुनुपर्थ्याे तर खराब मौसमले सबै उडान हुन नसकेको प्राधिकरणले जनाएको छ। तालिका अनुसार बुद्ध एयरका ५८, यती एयरका २७, श्रीएयरका २३, समिट एयरका १०, तारा एयरका १०, सीता एयरका ४ र नेपाल वायुसेवा निगमका २ वटा उडान थिए।

खराब मौसमका कारण केही अन्तर्राष्ट्रिय उडान प्रभावित भए। दिल्ली र मुम्बईबाट दिउँसो काठमाडौं आएका ३ वटा विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि केही समय सिमरामाथिको आकाशमा होल्ड भए। केही समय होल्डपछि ती विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। एयर इन्डियाका दुई विमानमध्ये एउटा अवतरण गर्न नसकेर डाइभर्ट भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले खराब मौसमका कारण मुलुकभरका केही विमानस्थलको आन्तरिक उडान प्रभावित भएको बताए।

पर्यटकलाई सतर्क रहन आग्रह

मौसममा गडबडी भएपछि स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने र पदमार्ग तथा पुलमासमेत असर पर्न सक्ने चेतावनी दिइएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले शुक्रबार सार्वजनिक गरेको मौसम अपडेटअनुसार मनाङमा हल्का हिमपात भइरहेको छ। मुस्ताङको लोमान्थाङ, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छोम्रोङ, सिक्लेस तथा लमजुङको सिम्पानी क्षेत्रमा पनि वर्षा भइरहेको छ।

अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने र पदमार्ग तथा पुलमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले अहिले देशभरका अधिकांश जिल्लामा वर्षा भइरहेको छ। लगातारको वर्षा र झरीले खोला तथा नदीहरूमा बहाव बढेको छ। विभिन्न ठाउँमा गएको पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन्। काठमाडौं उपत्यकाका नदीहरूमा पनि जलसतह बढेपछि ट्राफिक प्रहरीले नदी करिडोर भएर यात्रा नगर्न माइकिङ गरिरहेको छ।

प्रकाशित: १० आश्विन २०८३ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App