नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
निसिनमा टस जितेर जापानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको हो।
नेपालको सुरुवात भने राम्रो हुन सकेन। कुशल भुर्तेल १२ बलमा ४ रन बनाएर दोस्रो ओभरको अन्तिम बलमा आउट भए। त्यसपछि आसिफ शेखले १५ बलमा २१ रन जोडे। आसिफ आउट हुँदा नेपाल ६२ रनमा पुगेको थियो।
कुशल मल्ल ५ बलमा २ रन र गुल्सन झा ६ बलमा २ रन बनाएर आउट भए। नेपाल ९.६ ओभरमा ८४ रनमा चार विकेट गुमाएको अवस्थामा थियो।
त्यसपछि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो योगफलतर्फ लगे। जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए। उनले १७८.१२ को स्ट्राइक रेटमा ब्याटिङ गरे।
लोकेशले २२ बलमा एक चौका र छ छक्कासहित अविजित ५२ रन बनाए। उनको स्ट्राइक रेट २३६.३६ रह्यो। जोरा र लोकेशले पाँचौँ विकेटका लागि अविजित साझेदारी गर्दै अन्तिम पाँच ओभरमा ६५ रन जोडे।
नेपालले अतिरिक्तबाट ११ रन पाएको थियो। जापानका रियो साकुरानो-थोमस, जेक कुसुडा-नेर्न र डेक्लान सुजुकीले एक-एक विकेट लिए।
अब जापानले १५ ओभरमा १५० रनको लक्ष्य पछ्याउनेछ। वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको हो।
प्रकाशित: १० आश्विन २०८३ ०८:०४ शनिबार





-600x400.jpg)