नेपालीको महान् पर्व बडादसैं सुरु भइसकेको छ । वर्षभर परिवारसँग टाढा रहेर पसिना बगाउने कामदार, रोजगारीका लागि विदेशतिर गएका युवा, पढाइ वा व्यवसायका कारण सहरमा बस्नेहरू सबैका लागि यो पर्व घर फर्केर आफ्नै परिवारसँग रमाउने अवसर हो । तर, यसपालिको दसैं यात्रामा हर्षभन्दा बढी चिन्ता छ ।
जल तथा मौसम विज्ञान विभागले यसपटक वर्षा बडादसैंसम्म लम्बिने पूर्वानुमान गरेको छ । यो सूचना सार्वजनिक भएपछि यात्रामा निस्कनुपर्ने लाखौँ मानिसको मनमा अनिश्चितताको छायाँ परिरहेको छ । लगातारको वर्षाले सडक, पुल र राजमार्गहरू कमजोर बनाएका छन्, जसले गर्दा यात्रुहरूको सुरक्षित आवागमनमा गम्भीर चुनौती खडा भएको छ ।
नेपालको भूगोल आफैँमा जटिल छ । तराईदेखि हिमालसम्म फैलिएर रहेका सडक सञ्जाल सामान्य दिनमा पनि व्यवस्थित छैनन् भने वर्षायाम सुरु भएपछि झन् कमजोर देखिन्छन् । तराईमा बाढीले सडक कटान गर्छ, पहाडमा पहिरो खस्छ, कतै नदी तर्ने पुल भासिन्छ । यस्तो अवस्थामा यात्रुको चाप बढ्ने दसैंको समय झन् असुरक्षित बन्न जान्छ । मुलुकका प्रमुख राजमार्गहरू पूर्वपश्चिम, मध्यपहाडी, पृथ्वी, सिद्धार्थ, मदन आश्रितलगायत धेरै सडक खण्डमा बर्सेनि समस्या देखिने गरेकाले यसपटक पनि यात्रुले सजिलो यात्राको अपेक्षा गर्न सक्दैनन् । नेपालगन्ज वा अन्य सहरमा काम गर्नेहरूको दसैं यात्रा प्रायः बसमा हुन्छ ।
टिकट पाउनै मुस्किल, पाइहाले पनि यात्रा गर्ने दिनसम्म बाटो खुला हुने हो कि भन्ने अनिश्चितता रहिरहन्छ । कतिपय यात्रुले तीन÷चार दिनअघि नै बसपार्कमा लामो लाइन बसेर टिकट सुरक्षित गरेका छन्, तर टिकट पाएकोमा मात्रै उनीहरूको चिन्ता सकिएको छैन । सडकमा अवरोध हुँदा बसहरू बीचैमा अलपत्र पर्ने, घण्टौँ जाममा अड्किने वा गन्तव्य नै नपुग्ने सम्भावना रहन्छ । यसपालि विभागले वर्षा निरन्तर हुने चेतावनी दिएको हुँदा यात्रुहरू त्रसित भएरै यात्रा गर्न बाध्य भएका छन् ।
राज्यको तयारी अपेक्षित छैन । दसैं आउने कुरा हरेक वर्ष निश्चित छ, वर्षायाम सुरु हुने समय पनि तय नै छ, तर सडक मर्मत र संरचना सुधारमा समयमै ध्यान नदिने कमजोरी वर्षौँदेखि देखिँदै आएको छ । संवेदनशील ठाउँमा स्थायी संरचना नबनाइने, अस्थायी कच्ची सडक वा असुरक्षित पुलमाथि भर पर्नुपर्ने बाध्यता अझै अन्त्य हुन सकेको छैन । सडक विभागले वर्षा सुरु हुनुअघि नै रणनीति बनाउनुपर्ने हो, तर प्रायः काम ढिलो सुरु हुन्छ र समस्या देखिएपछि मात्रै आकस्मिक प्रतिक्रिया दिने प्रवृत्ति दोहोरिन्छ । यातायात व्यवस्थापनमा पनि कमजोरी छ ।
यात्रुको चाप अनुसार अतिरिक्त गाडी थप्ने, टिकट प्रणालीलाई सहज बनाउने र यात्रुलाई ठगी वा मनपरी भाडाबाट जोगाउने व्यवस्थामा सरकार चुकिरहेको छ । बरु चाडपर्वलाई अवसर मानेर केही व्यवसायीले टिकट दर मनपरी बढाउने, यात्रुलाई असजिलोमा पार्ने काम दोहोरिएको छ । सरकारको नियमनात्मक भूमिका व्यवहारमा भन्दा कागजमा बढी सीमित भएको यात्रुहरूको गुनासो छ ।
दसैंको बेला सडक दुर्घटनाको दर सामान्य दिनभन्दा धेरै बढ्छ भन्ने तथ्यांक आफैँमा भयावह छ । चालकले यात्रुको चापका कारण निर्धारित भन्दा बढी घण्टा गाडी चलाउने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु हाल्ने र असुरक्षित सडक प्रयोग गर्ने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउँछ । वर्षा जारी भएको यसपटक त झन् जोखिम उच्च छ । पहिरोले सडक काट्ने, डुबानले पुल भासिने वा सडक भासिने समस्या यतिबेला छ्यापछ्याप्ती छ । यसबीचमा यात्रुले हतारलाई प्राथमिकता दिँदा सावधानी बिर्सने प्रवृत्ति देखिएको छ, जसले दुर्घटनाको सम्भावना झन् बढाउँछ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले यसपटक समयमै चेतावनी दिएको छ । वर्षा अझै केही दिन निरन्तर हुने संकेतले यात्रु र सरोकारवालालाई सतर्क बनाएको छ । तर, चुनौती सूचनाको प्रयोगमा छ । विभागले दिएको सूचना रेडियो वा टेलिभिजनमार्फत प्रसारित भए पनि यात्रामा निस्किसकेका मानिसलाई वास्तविक समयमा पुग्दैन । राजमार्गमै अद्यावधिक जानकारी दिने सूचना बोर्ड, मोबाइल एप वा अनलाइन प्लेटफर्मको उपयोग अझै संस्थागत हुन सकेको छैन । जसले गर्दा यात्रुले अनिश्चिततामै यात्रा गर्नुपर्ने बाध्यता दोहोरिएको छ ।
यस्तो अवस्थामा यात्रुहरूलाई मात्र दोष दिन सकिँदैन । उनीहरूको उत्साह र बाध्यता दुवैसँगै हुन्छ । वर्षभर घरबाट टाढा बसेर पसिना बगाउने मजदुर, शिक्षाको अवसर खोज्दै टाढा गएका विद्यार्थी वा विदेशबाट दशैंकै लागि फर्कने श्रमिकका लागि यो समय परिवारसँगै बिताउने एकमात्र अवसर हो । उनीहरूले जोखिम मोलेरै भए पनि घर पुग्ने प्रयास गर्नु अनौठो होइन । तर, राज्यले यसैलाई आधार मानेर उनीहरूको जीवनलाई जोखिममा छाड्ने अधिकार राख्दैन ।

समस्या केवल तत्कालिक छैन, दीर्घकालीन समाधान आवश्यक छ । प्रत्येक वर्ष दशैंपिच्छे उस्तै समस्या दोहोरिनु नेपालको योजनागत कमजोरी हो । अब सडक संरचनालाई दिगो र सुरक्षित बनाउन ढिलाइ गर्नु हुँदैन । नदी तर्ने ठाउँमा स्थायी पुल निर्माण, पहिरो संवेदनशील क्षेत्रमा प्राविधिक अध्ययनका आधारमा सडक निर्माण, वैकल्पिक मार्गको विकास, र नियमित मर्मत आवश्यक छ । यसरी मात्रै वर्षा लामो भए पनि आवागमन सहज बनाउन सकिन्छ ।
यस्तै, मौसम पूर्वानुमानलाई यात्रु–मैत्री बनाउनुपर्नेछ । केवल विज्ञप्ति वा समाचारमा सीमित नभई यात्रुको मोबाइलमा समयमै सन्देश पुग्ने, राजमार्गमै डिजिटल बोर्डमार्फत सूचना अद्यावधिक हुने, बसपार्क वा टिकट काउन्टरमै बाटो खुला÷बन्दको वास्तविक समयको जानकारी दिने प्रणाली विकास गर्नुपर्छ । यसले यात्रुलाई जोखिम कम गर्न मद्दत गर्नेछ । सार्वजनिक यातायात क्षेत्रमा कडाइ आवश्यक छ ।
चाडपर्वमा टिकट दर बढाउने, गाडीको प्राविधिक जाँच नगर्ने, चालकलाई थकाइमा पनि निरन्तर ड्राइभ गर्न लगाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सके दुर्घटनाको सम्भावना घट्छ । यात्रुको जीवनलाई व्यापारिक नाफाभन्दा माथि राख्ने सोच यात्रु संगठन र सरकारी निकायमा विकास हुन जरुरी छ ।
यात्रु स्वयंले पनि सतर्क हुनुपर्छ । हतारभन्दा बढी सावधानी, जोखिमभन्दा बढी विवेक आवश्यक छ । बाटोको अवस्था बुझेर मात्रै यात्रा थाल्नु, क्षमताभन्दा बढी यात्रु चढ्ने सवारीमा नबस्नु र सुरक्षा नियम पालना गर्नु यात्रुको जिम्मेवारी हो । आखिर दशैंको रमाइलो जीवन सुरक्षित रहँदा मात्र सम्भव हुन्छ । यसरी हेर्दा, यस वर्षको दशैं यात्रा केवल उत्सव होइन, परीक्षण पनि हो ।
राज्यको पूर्वतयारी, मौसम पूर्वानुमानको उपयोग, सार्वजनिक यातायातमा नियमन र यात्रुको विवेक यी सबैको संयुक्त संयोजनले मात्र दुर्घटना कम गर्न सक्छ । नत्र, हरेक वर्ष जस्तै यो वर्ष पनि दशैंको उल्लाससँगै दुखद समाचार सुन्नुपर्ने स्थिति दोहोरिन सक्छ ।
प्रकाशित: ९ आश्विन २०८२ १८:३२ बिहीबार





