हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्रा यो वर्ष पनि निकालिएको छ। ५८ औं संस्करणको रथयात्रामा हजारौं भक्तजनको सहभागिता रहेको छ।
विराटनगर महानगरपालिका १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथले नगरको परिक्रमा गरिरहेको छ। रथयात्राको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले गरेका थिए। मन्दिर परिसरबाट निकालिएको रथले महानगरको ९ किलोमिटरको दूरी पूरा गर्ने छ। रथयात्रामा रथको अघिपछि विभिन्न जातजातिका परम्परागत सांस्कृतिक झाँकीहरू रहेका छन्।
विराटनगरमा निकालिने राधाकृष्ण युगलजोडीको रथयात्रा नेपालकै ठूलो रथयात्राका रूपमा परिचित रहेको छ। रथयात्रामा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको छ। विराटनगरमा आयोजना हुने रथयात्रामा सहभागी हुन नेपालका मात्र नभई भारतबाट पनि हजारौं श्रद्धालुहरू आउने गरेका छन्। रथयात्राको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्।
रथयात्राको रुटमा ट्राफिक व्यवस्थापनका लागि यातायातका साधनहरू सञ्चालनमा रोक लगाइएको छ। विराटनगरको रथयात्रा १९८८ देखि खटयात्राका रूपमा शुरू भएको थियो।
प्रकाशित: १ भाद्र २०८२ १७:५२ आइतबार





