२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

आईजीपी थापालाई प्रश्न: जीबी राई खै ?

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्येका एक जीबी राईलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाहेक ‘माथिल्लो तह’ बाट समेत पहल भइरहेको बताएका छन्।

उनले राईलाई पक्राउ गरी नेपाल ल्याउने प्रयास विभिन्न चरणमा अघि बढिरहेको सुनाए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै आईजीपी थापाले राई मलेसियामा रहेको सूचना प्रहरीसँग रहेको र उनलाई पक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी भइसकेको जानकारी दिए।

‘जीबी राई यहाँ हुनुहुन्न, त्यतिबेलादेखि नै उहाँ मलेसियामा हुनुहुन्छ भन्ने छ। त्यसका लागि हामीले रेड कर्नर नोटिस जारी पनि गरेका छौं,’ उनले भने, ‘इन्टरपोलमार्फत हामीले निरन्तर सूचना आदानप्रदान र फलोअप गरिरहेका छौं।’

यद्यपि, इन्टरपोलको प्रक्रिया मात्रै पर्याप्त नहुने अवस्थामा अन्य च्यानलहरू पनि प्रयोग गरिएको उनले बताए। ‘तर कुरा के हुँदो रहेछ भने, इन्टरपोलले मात्रै नभ्याउँदा त्योभन्दा माथिल्लो लेभल जानुपर्ने हुन्छ,’ आईजीपी थापाले भने, ‘माथिल्लो लेभलबाट पनि हाम्रो पत्राचारहरू भएका छन्।’

उनले विदेशमा रहेका अभियुक्तलाई पक्राउ गरेर ल्याउनु कानूनी र प्रक्रियागत हिसाबले जटिल हुनेतर्फ संकेत गरे। ‘अब हामी आफैं गएर उहाँलाई भेट्यौं भनेर ल्याउन सक्ने अवस्था होइन’ उनले भने।

महानिरीक्षक थापाले सहकारी ठगी प्रकरणमा हालसम्म २० जनालाई पक्राउ गरिसकिएको र अब पक्राउ गर्न बाँकी १६ जनामध्ये राई पनि एक रहेको जानकारी दिए।

उनले आफू सीआईबी प्रमुख हुँदा नै सहकारी ठगीको अनुसन्धान सुरु भएको र यो विषयलाई प्रहरीले गम्भीरतापूर्वक लिइरहेको बताए।

‘त्यसमा हामी लागिरहेकै छौं। निकट भविष्यमा सफलता मिल्ला,’ उनले विश्वास व्यक्त गरे।

प्रकाशित: ४ भाद्र २०८२ १९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App