बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट घरबास गुमाएका नागरिकका लागि प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएका छन्।
भक्तपुरका सञ्चारकर्मीसँग शनिबार सूर्यविनायकमा भएको छलफलमा मुख्यमन्त्री थापामगरले बाढी प्रभावितका लागि सुरक्षित स्थानमा नयाँ बस्ती निर्माण गरी पुनर्वासको व्यवस्था गरिने बताए।
उनले भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताए। नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ सुरक्षित स्थानमा बस्ती विकास गर्ने तयारी भइरहेको उनको भनाइ छ।
मुख्यमन्त्री थापामगरका अनुसार प्रभावित नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। नुवाकोटका बाढीपीडितका लागि विदुर नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ भने रसुवाका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिए।
बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको मुख्यमन्त्री थापामगरले बताए। तत्कालीन राहतसँगै प्रभावितलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्ने काममा प्रदेश सरकार केन्द्रित रहेको उनको भनाइ छ।
भोटेकोशी बाढी प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए। यसका लागि पहल तथा छलफल सुरु भइसकेको उनले जानकारी दिए।
त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने र उनीहरूको आवासको जिम्मेवारीसमेत प्रदेश सरकारले लिने निर्णय गरेको मुख्यमन्त्री थापामगरले बताए। आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
प्रकाशित: २७ भाद्र २०८३ २०:२८ शनिबार





