१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रदेशको डबली स्थानीय तहलाई हस्तान्तरण

गाउँपालिका अध्यक्षलाई डबली सञ्चालनका लागि सम्झौतापत्र हस्तान्तरण गर्दै मन्त्री न्यौपाने।

लुम्बिनी प्रदेश सरकारले पाल्पाको तिनाउँ गाउँपालिका-२ मा निर्माण गरेको सांस्कृतिक डबली स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

प्रदेश सरकारले निर्माण गरेको उक्त डबलीको संरक्षण तथा सञ्चालनको अधिकार अब त्यहाँ स्थित तिनाउ गाउँपालिकाले पाएको छ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठलाई सांस्कृतिक डबलीको संरक्षण तथा सञ्चालन अधिकारसहितको सम्झौता पत्र हस्तान्तरण गरे।

मन्त्री न्यौपानेले स्थानीय तहलाई हस्तान्तरण गरिएको उक्त डबलीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवर्द्धन गर्न र आर्थिक स्रोतको माध्यमका रूपमा विकास गर्न आग्रह गरे। ‘प्रदेश सरकारको लगानीमा निर्माण भएको सांस्कृतिक डबलीको संरक्षण तथा सञ्चालनको अधिकार तिनाउँ गाउँपालिकालाई दिइएको छ,’ मन्त्री न्यौपानेले भने, ‘यो डबली अब पर्यटकीय क्षेत्रको रूपमा विस्तार हुने र आर्थिक स्रोतको बलियो माध्यम बन्ने अपेक्षा हामीले गरेका छौँ।’

यो डबली प्रदेश सरकारले तीन करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ लागतमा निर्माण गरेको हो। यो लागतमा निर्माण भएको सांस्कृतिक डबलीको सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहलाई दिने निर्णय प्रदेश सरकारले गरेको थियो। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको गत भदौ ९ गतेको मन्त्री स्तरीय निर्णय अनुसार सांस्कृतिक डबली सञ्चालन तथा व्यवस्थापनको जिम्मा तिनाउँ गाउँपालिकालाई दिने निर्णय भएको थियो। सोही निर्णयका आधारमा तिनाउँ गाउँपालिका र मन्त्रालयबिच दुई पक्षीय सम्झौता भएको हो।

मन्त्रालय र गाउँपालिकाबिच भएको सम्झौता अनुसार उक्त सांस्कृतिक डबलीको संरक्षण, रेखदेख, मर्मत सम्भार , सम्वर्द्धन गाउँपालिकाले गर्ने छ। यसैगरी प्रदेशको पहिचान झल्कने लोक संस्कृतिमा आधारित कार्यक्रमहरू सञ्चालन गरिने, सामाजिक जागरण मूलक सांस्कृतिक अभियान सञ्चालन गरि कुसंस्कार, कुप्रथा, अन्धविश्वास, भेदभाव, शोषण तथा बेथिति निर्मूल पार्न र समाजमा नैतिक शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

यसैगरी, प्रदेशका विभिन्न जातजाती र समुदायको मौलिक लोकगीत, लोकनृत्य, लोकनाट्य जस्ता सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने मञ्चका रूपमा डबलीलाई प्रयोग गर्ने सम्झौता गरिएको छ। डबलीलाई सांस्कृतिक गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लगायतका सम्झौता मन्त्रालय र गाउँपालिकाबिच भएको छ।

प्रकाशित: १८ चैत्र २०८२ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App