कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक बालकको मृत्यु भएपछि बुधबार दिनभर अस्पताल परिसर तनावग्रस्त बन्यो।
चिकित्सकको लापरबाहीका कारण बालकको ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। यद्यपि, साँझ अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि हाल आन्दोलन साम्य भएको छ।
कालिकोटको खाडाचक्र नगरपालिका-२ का दुई वर्षीय बालक सन्तोष बरालको बुधबार दिउँसो साढे १२ बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो।
सोमबार कालिकोटस्थित घरको आँगनमा खेल्ने क्रममा लडेर घाइते भएका बराललाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो।
उपचारकै क्रममा बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा नाराबाजी र प्रदर्शन सुरु गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग राखेका थिए।
आन्दोलनका कारण अस्पतालको अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुरक्षा व्यवस्था कडा पारेको थियो।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन दुई जना प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको प्रहरी टोली अस्पतालमा परिचालन गरिएको थियो।
तनावपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भएको थियो। कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापासहित बसेको छलफलमा दुई बुँदे प्रारम्भिक सहमति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सहमतिअनुसार बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने र शवलाई घरसम्म पुर्याउने व्यवस्था पनि अस्पतालले नै गर्ने भएको छ। यो सहमतिसँगै आफन्तले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
प्रकाशित: २३ पुस २०८२ १५:५५ बुधबार





