३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हात्ती महोत्सवमा हात्तीप्रतिको क्रूरताको विरोध

जनावरको अधिकार संरक्षणमा कार्यरत एक अन्तर्राष्ट्रिय संस्थाले चितवनमा हात्ती महोत्सवमा हात्तीमाथि गरिने क्रूरताको विरोधमा अभियान सुरु गरेको छ। जनावरप्रति नैतिक व्यवहारका लागि मानिस अर्थात् ‘पिपुल फर द इथिकल ट्रेन्टमेन्टअन एनिमल्स (पेटा)’ नाम गरेको उक्त संस्थाले महोत्सवमा हात्तीहरूलाई फुटबल खेलाउनका निम्ति माहुतेहरूले हात्तीमाथि अंकुशलगायत लट्ठी र चुच्चो काठको चक्कुजस्ता हतियार प्रयोग गरेर, पिटेर, घोचेर आफूले भनेको कुरा मान्न लगाइने गरेको पाइएको बताइएको छ।

पेटाले सुरु गरेको उक्त अभियानअन्तर्गत ‘हात्तीलाई घृणा गर्ने जोकोहीलाई नेपाल आउन आमन्त्रित गर्ने व्यंग्यात्मक सन्देशसहितको ‘टिसर्ट’ सार्वजनिक गरिएको छ।

टिसर्टको अगाडि ‘हेट इलेफेन्ट– कम टु नेपाल’ लेखिएको छ भने पछाडिपट्टि ‘चितवन, हेयर इलेफेन्ट्स आर विटन फर योर इन्टरट्यानमेन्ट’ लेखिएको छ।

पेटाको आधिकारिक अनलाइन स्टोरमा हाल यी टिसर्ट उपलब्ध रहेको र छिटै थप सामग्री पनि आउने उक्त संस्थाले जनाएको छ। यस विषयमा ध्यानाकर्षण गरेपछि महोत्सवका प्रमुख प्रायोजकहरूले महोत्सवसँग आफ्नो सम्बन्ध टुटाए पनि नेपाल पर्यटन बोर्ड यो विषयमा मौन रहेको पेटाले जनाएको छ।

पेटाले हालै सम्पे्रषण गरेको एक भिडियोमा महोत्सवका अवसरमा एक हात्तीलाई कम्तीमा ६४ पटक घोचेको, लात्तीले हानेको र पिटेको देखाएको छ। महोत्सवमा चुच्चो लट्ठीको प्रयोग गर्दै हात्तीलाई बारम्बार घोचिरहँदा एक माहुते मुस्कुराउँदै गरेको देखिएको छ भने अर्काे माहुतेले एउटा हात्तीको छावालाई कुहिनोले अनुहारमा हानेको पनि देखिन्छ। यसैगरी अधिकांश हात्तीको टाउको र कान रगताम्य भएको र गहिरो घाउ देखिएको पेटाले जनाएको छ। यसैगरी पर्यटकसँग फोटो खिचाउने साधनका रूपमा र पर्यटकलाई जबर्जस्ती सवारी गराउनका लागि हात्ती प्रयोग गरिने गरिएको उक्त संस्थाको भनाइ छ।

‘हात्तीहरू पिट्ने, बाँध्ने, जबर्जस्ती खेल खेलाउने क्रूर महोत्सवमा होइन, आफ्ना परिवारका सदस्यसँग वनमा रहनुपर्दछ’, वरिष्ठ उपाध्यक्ष जेसन बेकरलाई उद्धृत गर्दे पेटाको विज्ञप्तिमा भनिएको छ।

‘पेटाका नयाँ सामग्रीले जनावरहरूलाई दुरुपयोग गरुञ्जेल र हात्तीमुक्त नगरुञ्जेल पर्यटकहरू चितवनबाट टाढा नै बस्नू भन्ने सन्देश प्रवाह गर्नका लागि प्रेरणा दिनेछ’, उनले भनेका छन्।

गत वर्षको महोत्सवको पूर्वसन्ध्यामा अभिनेता, चलचित्र निर्मातासमेत रहेका पेटाका निर्देशक जोन अब्राहमले नेपालका पूर्व संस्कृति, नागरिक उड्डयन र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई एक पत्र लेखी पशुमाथि हुने दुव्र्यवहार अन्त्य गर्न आह्वान गरेका थिए।

पेटाको मूल नाराको एउटा अंशमा ‘पशुहरू हाम्रा मनोरञ्जनका साधन होइनन्’ भनिनुले हरेक पशुहरू पनि मानिससरह हुन् भन्ने देखाउने पेटाको भनाइ छ।

 

प्रकाशित: ३ कार्तिक २०८२ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App