निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
आयोगले प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेपछि समानुपातिकतर्फको सिट बाँडफाँट पनि टुंग्याएको जानकारी दिएको छ।
समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलहरूले मात्र सिट प्राप्त गरेका छन्।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक ५७ सिट पाएको छ। त्यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ सिट पाएका छन्।
कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ०३२ मत खसेको थियो। जसमा ९४.५५ प्रतिशत (१ करोड ५ लाख ५९ हजार ०१७) मत सदर थियो।
त्यस्तै, समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा ९६.०५ प्रतिशत अर्थात् १ करोड ८ लाख ३५ हजार ०२५ मत सदर भएको पाइएको छ।
सिट बाँडफाँट टुंगिएसँगै आयोगले सम्बन्धित दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट निर्वाचित हुने प्रतिनिधिको नाम पठाउन पत्राचार गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी पेस गर्न दलहरूलाई बिहीबार नै पत्र पठाइएको बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १९:५६ बिहीबार





