२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

चार वर्षदेखि रोकिएको आयोजनाले अब गति लिने : बालकुमारी जीआईएस सबस्टेशनका लागि जग्गा प्रक्रिया टुंगियो

लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै प्रक्रिया टुंगिएको हो।

काठमाडौं र ललितपुरमा विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अघि बढाइएको थियो। तर, जग्गा प्राप्ति नहुँदा चार वर्षभन्दा बढी समयदेखि आयोजना रोकिएको थियो।

सो सबस्टेशन (एडीबी) को ऋण लगानीमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुनेछ। भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारण लाइन बालकुमारीस्थित जीआईएस सबस्टेशनमा जोडिनेछ। त्यसपछि टेकु सबस्टेशनमा जोड्ने तयारी छ। निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

केयुकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउने र त्यसवापत प्राधिकरणले २५ वर्षका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ। जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ।

प्रकाशित: १५ वैशाख २०८३ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App