जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ।
कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए।
साथै तोकिएको अवधिमा नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।
कारागारबाट भागेका कैदीबन्दी लुकाउने, छिपाउने र आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख छ।
गत भदौ २४ गते कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना फरार भएकामा आज बिहानसम्म यस कारागारमा २६२ जना आइसकेको क्षेत्रीले बताए।
प्रकाशित: १४ आश्विन २०८२ १२:०९ मंगलबार


-600x400.jpg)


