गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीहरूमध्ये ९ जना उदयपुरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै फरार कैदीसहित रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। फरार कैदीहरूको खोजी र पक्राउ गर्ने अभियानअन्तर्गत भागेको मितिदेखि असोज २१ गते साँझ ६:०० बजेसम्ममा उनीहरू प्रहरीको नियन्त्रणमा आएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको प्रेस नोटअनुसार असोज २१ गते (मंगलबार) मात्र ३ जना फरार कैदी पक्राउ परेका छन्। जसमा डाका मुद्दाका अभियुक्त त्रियुगा नगरपालिका ६ जलजलेका सञ्जीव अछामी भनिने सञ्जिव दर्जी पक्राउ परेका छन्। डाका चोरी उद्योगमा ५ वर्ष ६ महिना कैद र ५५ हजार जरिवानाको फैसला सुनाइएका २८ वर्षीय दर्जी नक्खु कारागारबाट रवि लामिछानेसँगै भागेका हुन्।
बेलका नगरपालिका ३ स्थायी घर भई जबरजस्ती करणी अभियोगमा झुम्का कारागारबाट भागेका ४० वर्षीय योगेन्द्र राई पनि मङ्गलबार नै पक्राउ परेका हुन्। मङ्गलबारै रौतामाई गाउँपालिका ८ का प्रेमबहादुर तामाङ पनि पक्राउ परेका छन्। उनलाई सवारी अङ्गभङ्ग अभियोगमा जिल्ला कारागार बैतडीमा सजाय भुक्तान गरिरहेको प्रहरीले जनाएको छ।
अन्य फरारहरूमा सुनसरी धरान उपमहानगरपालिका ८ का प्रविण सुन्दास भदौ २९ गते नै पक्राउ परेका थिए। जबरजस्ती करणी अभियोगमा ९ वर्ष १० महिना ८ दिन कैद सजायको फैसला सुनाइएका ३२ वर्षीय सुन्दास झुम्का कारागारबाट भागेका थिए।
त्यसैगरी चौदण्डीगढी नगरपालिका १ का जबरजस्ती करणीका अभियुक्त भई झुम्कामै सजाय कटाइरहेका ३७ वर्षीय धनबहादुर राई भदौ ३० गते पक्राउ परेको प्रहरीले जनाएको छ। चौदण्डीगढीकै ४ नं. वडाका ६४ वर्षीय ज्ञानबहादुर सार्की पनि जबरजस्ती करणीका आरोपी हुन्। ११ वर्ष कैद सजायको फैसला सुनाइएका सार्की केन्द्रीय कारागारबाट भागेका थिए, भदौ ३१ गते पक्राउ परेका छन्।
कर्तव्य ज्यानमा सजाय भुक्तान गरिरहेका लिमचुङबुङ गाउँपालिका ५ का सन्तबहादुर राई असोज ६ गते पक्राउ परे। ७२ वर्षीय उनले केन्द्रीय कारागारमै सजाय भुक्तान गरिरहेका थिए। जबरजस्ती करणी अभियोगमा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका अर्का कैदी ३१ वर्षीय दिले भनिने दिलिप कार्की असोज १७ गते पक्राउ परेका छन्।
त्यसैगरी लागूऔषध अभियोगमा झुम्कामै सजाय कटाउँदै आएका रौतामाई गाउँपालिका १ का २८ वर्षीय नरेश विश्वकर्मा पनि असोज १७ गते नै पक्राउ परेका हुन्। पुर्पक्षका लागि झुम्का कारागारमा बन्दी रहेका उनले अन्य कैदीसँगै फरार भएको प्रहरीको प्रेस नोटमा जनाइएको छ।
प्रकाशित: २२ आश्विन २०८२ ११:१२ बुधबार





