२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी चलाउने तयारी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।

दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सम्पन्न भएपछि केहीबेरअघिबाट सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि रोकिएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ।

सडकको भित्तातर्फ नाली निर्माणको काम बाँकी रहेकाले उक्त काम बिहीबारसम्म सम्पन्न गरी सडकलाई दुवैतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेको जैसीले बताए।

यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो।

गत भदौ १० गते आएको त्रिशूली बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। त्यसयता उक्त मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौं आवतजावत गरिरहेका थिए।

प्रकाशित: २८ भाद्र २०८३ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App