आन्तरिक पर्यटन भित्र्याउन पोखरामा फेवा नववर्ष महोत्सव आयोजना गरिने भएको छ । होटल संघ पोखराले २१ औं संस्करणको महोत्सव गर्न थालेको हो ।
नेपाली नयाँवर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव गरिने अयोजक संघले बताएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य सहित महोत्सव आयोजना गरेको बताए ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए । ‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि महोत्सव आयोजना गरेका हौ । पोखरामा हरेक वर्ष हुने महोत्सवले आन्तरिक पाहुना भित्र्याउन सघाएको छ,’ उनले भने, ‘आन्तरिक बाहेक विदेशी पाहुनालाई पनि हामीले पोखरामा आकर्षण गर्न खोजेका हौ । आएका पाहुनाको बसाई अवधि बढाउन पनि महोत्सवले सघाउँछ ।’
जेन–जी आन्दोलन र त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँवर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवातालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।
व्यवासायीका अनुसार महोत्सवमा आन्तरिक पाहुना भित्र्याउनका लागि विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि पनि संचालन गरिनेछ । संघले पाहुना आकर्षण बढाउन पूर्वी भेगका सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारी रहेको पनि अध्यक्ष सुवेदीले बताए । ‘पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको योगदानले विशेष महत्व राख्ने गरेको छ । पोखराको पर्यटन क्षेत्रमा कम्तिमा ४० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएका छन,’ उनले भने, ‘आन्तरिक पाहुना नै पर्यटन क्षेत्रलाई चलायमान बनाउने आधार समेत बनेका छन ।’
महोत्सवका अवसरमा दोहोरी तथा गीत संगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । यो बेला पर्यटन क्षेत्रका लागि महत्वपूर्ण सिजन भएपनि मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विदेशी पाहुनाको आगमन प्रभावित भएको बेला हुन थालेको यो महोत्सवले आन्तरिक पाहुना भित्रयाउन भने सघाउने उनले बताए ।
प्रकाशित: ६ चैत्र २०८२ १८:३९ शुक्रबार





