२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

शनिबार उदयपुरमा दिनभर विद्युत अवरुद्ध हुने

फाइल तस्बिर

उदयपुरमा शनिबार बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै बिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहने जनाएको हो।

प्राधिकरणको वितरण केन्द्र गाईघाटका अनुसार गाईघाट वितरण केन्द्रअन्तर्गत ३३ केभी प्रसारण लाइनको लाहान–जलजले खण्डमा रुखका हाँगाबिँगा काट्ने (ब्रस कटिङ) कार्य गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध गरिनेछ। उक्त कार्यका कारण जलजले फिडरको ११ केभी प्रसारण लाइन पनि बन्द रहने जनाइएको छ।

प्राधिकरणका अनुसार जलजले सबस्टेशनबाट प्रसारण हुने ११ केभी फिडरअन्तर्गत गाईघाट, जलजले, मोतिगडा, चुहाडे र जोगीदह क्षेत्रमा विद्युत सेवा प्रभावित हुनेछ। ती फिडरसँग जोडिएका लाइन बन्द हुँदा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका सबै वडामा तथा उदयपुरगढी गाउँपालिका–७ मा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ।

वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवका अनुसार रुखका हाँगाबिँगाले तार छोएमा विद्युत अवरुद्ध हुने, चट्याङलगायत समस्या निम्तिन सक्ने भएकाले हरेक वर्ष यस्तो सरसफाइ तथा मर्मत कार्य गरिन्छ। अन्य दिन कामकाजमा असर पर्ने भएकाले बिदाको दिन शनिबार पारेर काम गरिने उनले बताए।

ब्रस कटिङका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना गरेको छ। मर्मत कार्य सकेसम्म चाँडो सम्पन्न गरी तोकिएको समयअघि नै विद्युत सेवा सुचारु गर्ने प्रयास गरिने पनि यादवले बताए।

प्रकाशित: ४ वैशाख २०८३ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App