१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

तिहार-छठमा माटोका भाँडा बिक्री घट्दा कुमालको पेसा संकटमा

तिहार र छठ पर्वमा तराईमा माटोको दियो र भाँडाकुडा बनाउने कुमाल जातिको पेसा संकटमा परेको छ।

झिलिमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुका कारण तिहार र छठका लागि पुस्तौंदेखि महोत्तरीसहित मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुडा बनाउने कुमाल जातिको पेसा संकटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रुव रायले बताए।

दिपावली र छठमा वर्षेनी लाखौंका माटाका भाँडाकुडा र दियो बिक्री गर्ने कुमालहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाले माटोको सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताए।

पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुन्थ्यो। हाल बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताए।

पहिले जिल्लाभरका हाट बजारमा माटोको सामग्री बिक्री हुन्थ्यो, अहिले नगण्य मात्रामा बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताए। विगतमा महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुडा तराई मधेसमा मात्र नभई काठमाडौं, पोखरा, हेटौंडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुन्थ्यो।

माटोका सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यो पेसामा नयाँ पुस्ता आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताए। आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृतिप्रेमीले माटोकै भाँडाकुडा रुचाउने भएकाले कुमाल जातिका बुढापाकाले जसोतसो सामग्री बनाएर जीविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताए। रासस

प्रकाशित: २७ आश्विन २०८२ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App