राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै जिल्लाले सतकर्ता अपनाएको बताएका छन्। शनिबार र आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रीकालिन यातायात बन्द गर्न सम्म अनुरोध गरेका छन्। रातीको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन्। प्राधिकरणले गण्डकी प्रदेशका गोरखा, लम्जुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङजामा रातीको समयमा सवारी आवागमनमा रोक लगाउने तथा परिस्थिति अनुसुार जुनसुकै बेला पनि सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ।
विपद् आइपरेमा सुरक्षा निकाय, स्थानीय तह, लगायतका निकाय तयारीमा रहन पनि प्राधिकरणले अनुरोध गरेको छ। जोखिमयूक्त, राजमार्ग र सडकमा डोजर, स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि प्राधिकरणले भनेको छ।
प्राधिकरणले सूचना पछि गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ वटै जिल्लालाई सचेत रहन आग्रह गरेको प्रदेशको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले बताए। ‘जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरे अनुसार वर्षा र बाढिपहिरोको जोखिम रहेका जिल्लालाई हामीले सचेत हुन भनेका छौं। आवश्यक परेमा सहयोग माग्न निर्देशन दिएका छौं,’ उनले भने। विपद् व्यवस्थापनका लागि प्रदेशका आफ्नै बलियो संरचना नभएकोले प्रदेशका जिल्ला प्रशासन कार्यालय मार्फत आवश्यक कदम चालिने उनले बताए।
‘प्रदेशभित्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ। जोखिमयुक्त जिल्लालाई बढि सचेत हुन भनिएको छ। हाम्रो कमाण्ड पोष्ट तयारी अवस्थामा छ,’ आचार्यले भने, ‘सुरक्षा निकायलाई कुनैपनि बेला विपद्मा जुट्नुपर्ने हुनसक्ने भएकोले तयारी अवस्थामा रहन भनिएको छ।’
बढि नै क्षति हुने गरि विपद् आइपरेको खण्डमा कुनै जिल्लालाई जनशक्ति अभाव भएमा प्रदेश सरकारलाई जानकारी गराउन पनि भनेको उनले बताए। ‘सबै जिल्लामा विपद् व्यवस्थापनका लागि बजेट पठाइएको छ। केहीगरि खर्च भएको खण्डमा तुरुन्तै सोधभर्ना गरेर बजेट तयारी अवस्थामा राखिनेछ,’ उनले भने,‘प्रदेशभित्रका सबै निकायसँग समन्वय र सहकार्य गरेका छौं।’
जिल्ला प्रशासन कार्यालय म्याग्दीले बाढिपहिरोको जोखिम रहेको भन्दै विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ। म्याग्दी प्रशासनले सूचना जारी गर्दै बेनी–जोमसोम, बेनी–दरवाङ रुटमा सवारी चलाउन रोक लगाएको हो। शनिवार र आइतबार बेलुकी ७ देखि बिहान ५ बजेसम्म ती रुटमा सवारी चलाउन रोक लगाएको प्रशासनले बताएको छ। पहिरोको जोखिम रहेको कालिगण्डकी करिडोरमा बढि सचेत हुन प्रशासनले आग्रह गरेको छ।
यस्तैगरि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन कास्कीबासीलाई अपिल गरेको छ। कास्की प्रशासनले शनिबार एक सूचना जारी गर्दै लामो यात्रामा ननिस्कन नागरिकमा अपिल गरेको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत प्रदीप पौडेलद्वारा जारी सूचनामा कुनै पनि बेला अकस्मात बाढी आउनसक्ने सम्भावना भएको भन्दै खोल्सा, खोला तथा नदी किनारमा नजान पनि आग्रह गरेको छ।
त्यस्तै कास्की प्रशासनले कास्कीबाट विभिन्न जिल्ला छुट्ने तथा बाहिरी जिल्लाबाट कास्की भित्रिने रात्रीकालीन सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ। प्रशासनको सूचनामा भनिएको छ, ‘रातिको समयमा भारी वर्षाको सम्भावना रहेको र बाढी पहिरोको जोखिम बढ्ने भएकाले कास्की जिल्लाबाट छुट्ने तथा कास्की जिल्ला भित्रिने रात्रीकालीन सवारी साधनहरु साँझ ७ बजेदेखि विहान ६ बजेसम्म सञ्चालन नगर्नु।’
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले कास्कीबाट पृथ्वी राजमार्ग (पोखरा–काठमाडौं), सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल), भूपी शेरचन राजमार्ग (पोखरा–बागलुङ) र पोखराबाट पृथ्वी राजमार्ग हुँदै मुग्लिन–नारायणगढबाट पूर्वतर्फ जाने सवारीलाई रोक लगाएको छ। त्यस्तै पोखरा भित्रिने सवारीलाई पनि यात्रामा सचेत हुन भनेको छ।
त्यस्तै पोखरादेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुने सवारी साधनलाई पनि शनिबार र आइतबार साँझ ६ बजेदेखि विहान ६बजेसम्म सञ्चालन नगर्न नगराउन आग्रह गरेको छ। प्रशासनले बाढी, पहिरो र डुवानको जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घर परिवारलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्न सचेत गराएको छ।
प्रकाशित: २ श्रावण २०८३ १७:०५ शनिबार



-600x400.jpg)

