८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

प्रहरीले भन्यो: राष्ट्रिय परिचयपत्रका नाममा आउने शंकास्पद लिंक नखोल्नुहोस्, ठगिएला

राष्ट्रिय परिचयपत्र (NID) को लिंक नभएको भन्दै मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुने दाबी गर्दै सर्वसाधारणलाई पठाइएका सन्देशप्रति नेपाल प्रहरीले सचेत गराएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो सन्देशमा विश्वास नगर्न र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको हो।

साइबर ब्यूरोले सार्वजनिक गरेको सूचनाअनुसार पछिल्लो समय ‘प्रिय ग्राहक, राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्ने व्यहोराका सन्देश पठाएर ग्राहकलाई एउटा शंकास्पद लिंकमा क्लिक गर्न लगाउने प्रयास भइरहेको छ।

यस्ता सन्देशमार्फत पठाइने लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। साइबर ब्यूरोले अफवाहपूर्ण तथा शंकास्पद सन्देशमा विश्वास नगर्न र त्यस्ता लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न भनेको छ।

बैंक वा डिजिटल वालेटसम्बन्धी आवश्यक सूचना लिनुपरेमा सम्बन्धित बैंक वा वालेटको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल पेजबाट मात्र सूचना लिन साइबर ब्यूरोले अनुरोध गरेको छ।

साइबर ठगी वा शंकास्पद गतिविधिबाट पीडित भएमा साइबर ब्यूरो, भोटाहिटी काठमाडौंमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। ब्यूरोले ९८५१२८६७७० र ९८५१२८६७७१ नम्बर तथा cyberbureau@nepalpolice.gov.np इमेलमार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

प्रहरीले डिजिटल बैंकिङ प्रयोगकर्तालाई अपरिचित व्यक्तिबाट आएका सन्देश, लिंक र वेबसाइट प्रयोग गर्दा विशेष सावधानी अपनाउन तथा आफ्नो बैंकिङ पासवर्ड, ओटीपी, कार्ड विवरण वा अन्य संवेदनशील जानकारी कसैलाई पनि नदिन आग्रह गरेको छ।

 

प्रकाशित: ८ भाद्र २०८३ २१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App