नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरी क्षेत्रमा कुनै पनि घटनाको सूचना पाएको ५ देखि १० मिनेटभित्रै प्रहरी घटनास्थलमा पुग्ने गरेको दाबी गरेका छन्। उनले प्रहरीले आफ्नो ‘रेस्पोन्स टाइम’ लाई उल्लेखनीय रूपमा सुधार गरेको बताएका हुन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
आईजीपी थापाका अनुसार, ‘सेफर भ्याली प्लान’ अन्तर्गत यस्तो द्रुत प्रतिकार्य प्रणाली विकास गरिएको हो। ‘सूचना प्राप्त भएको १० मिनेटमा हामीले रेस्पोन्स गर्छौं,’ उनले भने, ‘डायल १०० मा आउने फोन पनि इन्गेज हुँदैन, त्यहाँ १२ देखि १८ वटै फोनहरू छन्। सूचना आउनासाथ कुन टोली नजिक छ, त्यो तत्काल घटनास्थलमा पुग्छ।’
उनले तत्काल घटनास्थलमा पुग्ने प्रहरीमा बीट, पिकेट, अस्थायी चौकी र वृत्तका टोलीहरू रहने जानकारी दिए।
यो प्रणाली काठमाडौं, ललितपुर, भक्तपुरका मुख्य सहरी क्षेत्र र अन्य जिल्लाका सदरमुकामहरूमा प्रभावकारी रहेको उनको भनाइ छ। ‘अलिकति टाढाका ठाउँ रहेछन् भने १५ देखि २० मिनेट लाग्न सक्छ,’ उनले स्पष्ट पारे।
उनले प्रहरीसँग भएका २० वर्ष पुराना गाडी र सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई छिटोभन्दा छिटो सेवा दिन प्रहरी अहोरात्र खटिरहेको बताए।
प्रकाशित: ४ भाद्र २०८२ १९:३९ बुधबार





