केहीमहिना अघिसम्म पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको यात्रा सकसपूर्ण थियो। बिस्तारको काम करिब अन्तिम चरणमा पुगेसँगै राजमार्गको यात्रा यतिबेला सहज पनि बनिसकेको छ। राजमार्ग सहज भएसँगै अहिले यात्रा अवधि पनि छोटिएको छ।
पोखरा–मुग्लिन खण्डमध्ये पोखरा–आँबुखैरेनी (८० किमि) मात्र पहिलो चरणमा बिस्तार गरिएको हो। उक्त खण्डलाई पनि दुईभाग (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार गरिएको थियो।
बिस्तारको काम छोटिँदै जाँदा यो दूरीको एकाध खण्डमा मात्र कालोपत्रे हुन बाँकी छ। ठुला आकारका पुल निर्माणको क्रममा रहेकोले पुल आसपासका क्षेत्रमा मात्र कालोपत्रेको काम बाँकी छ, नत्र अधिकांश खण्डमा यात्रा सहज बनिसकेको छ। चिल्लो सडकमा सवारी कुद्न थालिसकेका छन।
बारम्बारको म्याद थप र नागरिकस्तरबाट निरन्तरको दवावसँगै राजमार्ग बिस्तारको काम त करिब अन्तिम चरणमा पुगिसकेको छ, त्योसँगै अहिले तिब्रगतिमा सवारी गुडाउँदा चूनौती पनि थपिँदै गएको छ। दिनहुँजसो राजमार्गका कुनै न कुनै ठाउँमा सानाठुला दुर्घटना हुन् थालेका छन। त्यसले मानवीय क्षति नै हुन थालेको छ।
गण्डकी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो चारमहिना (बैशाख–साउन)सम्मको अवधिमा पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डमा भएका सवारी दुर्घटनामा मात्र १९ जनाको ज्यान गएको छ। दुर्घटनामा परेर ५५ जना घाईते भएका छन। यो अवधिमा ३४ वटा सानाठुला दुर्घटना पनि भइसकेका छन।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एसपी दानबहादुर थापा भन्छन, ‘पोखरा मुग्लिन खण्डमा दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरवाही, सवारी साधनको अवस्था र त्यसमा चालकको जिम्मेवारीपन कमजोरी देखिएको छ।’ उनका अनुसार बिस्तारको क्रममा रहेको राजमार्गको काम अझै सतप्रतिशत पुरा भएको छैन । ठाउँठाउँमा डाइभर्सन छन। तिब्रगतिमा सवारी हाँक्ने चालकले डाइभर्सनको ख्याल गर्न सकेका छैनन। ती डाइभर्सनले पनि झुक्याएको छ, जसले दुर्घटना बढाउन सहयोग गरेको छ।
त्यसबाहेक सडक प्रयोगकर्ताको सचेतनामा पनि समस्या रहेको उनले बताए। सडकको भौगोलिक अवस्था पनि दुर्घटनाका कारण रहेको उनले बताए । ‘दमौली नजिकैको कमलवारीमा बारम्बार ठुला ट्रक दुर्घटना हुन्छन । ती दुर्घटना हुनुमा भौगोलिक अवस्था मुख्य समस्या छ,’ उनले भने । थापाका अनुसार राजमार्गको भौगोलिक अवस्था कस्तो छ भने सिधा सडकमा गुडिरहेका सवारी एकाएक घुम्तीमा मोडिनुपर्दा भारयुक्त ती सवारीले सन्तुलन गुमाउने र दुर्घटना हुने गरेका छन् । ‘तिब्रगतिले नै जीवन क्षति भईरहेको छ,’ उनले भने ।
.jpg)
तिब्रगतिमा सवारी हाक्न हुँदैन भन्ने ज्ञान र चेतना चालकमा नभएको पनि उनी बताउँछन। ‘लेन अनुशासनमा पनि समस्या छ। कुन गतिका सवारी कुन लेनबाट चलाउने भन्नेमा नागरिक सचेतना र चालक जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘आफ्नो कारणले मात्र नभई अरुका कारणले दुर्घटना हुने गरेका छन।’ राजमार्गको भौगोलिक अवस्थाका कारणले दुर्घटना हुन थालेपछि कतिपय घुम्तीमा सडकको स्वरुप केही परिवर्तन गर्न सकिन्छ की भन्नेबारेमा पनि छलफल चलिरहेको एसपी थापाले बताए।
उनका अनुसार कमलवारीको घुम्तीमा रहेको हालको अवस्थालाई केही परिवर्तन गर्ने तयारी पनि छ। राजमार्गमा गुड्ने सवारीका स्पीड नियन्त्रणका लागि ठाउँठाउँमा राडार गन सहितको टिम परिचालन गर्ने तयारी पनि ट्राफिक प्रहरीको रहेको उनले बताए। ‘अहिले जे जति घटना घटेका छन। ती मध्ये अधिकांश पूर्वी खण्डमा घटेका छन। पूर्वि खण्डको काम करिब सकिएको छ। पश्चिम खण्डमा केही बाँकी छ,’ उनले भने, ‘सवारी साधनको गति कम हुनासाथ जोखिम कम हुन्छ।’
उनका अनुसार राजमार्गको सहरी खण्डबाहेक अन्यत्र प्रतिघण्टा ६० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइन्छ। त्यस्तै सहरी क्षेत्रमा भने बढीमा ४० किलोमिटरको गतिमा मात्र सवारी हाँक्न पाइन्छ। राजमार्गको दुलेगौंडा, खैरेनीटानर, दमौली, डुम्रे लगायतका खण्डमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी गुडाउन पाइन्छ। तर, चालकले राजमार्गमा अधिक गतिमा सवारी हाँक्ने गरेको उनले बताए।
‘मानवीय गतिविधि कम भएका र सिधा खण्डमा मात्र बढिमा ६० किलोमिटरको दरले गाडी गुडाउन पाउने गरि ठाउँठाउँमा सूचना बोर्ड राखिएको छ, तर, चालकले पाएसम्म प्रतिघण्टा एकसय किलोमिटर भन्दा बढीको गतिमा सवारी हाक्ने गर्छन,’ एकजना ट्राफिक प्रहरी अधिकृत भन्छन, ‘सडक त बन्यो, तर, नियम कानुन पालना गर्नमा चालक चुकेका छन। सडक सहज देख्नासाथ सवारीका गति बढाइहाल्ने चलन बढेको छ।’
विकाससँगै जिम्मेवारी पालना नगर्दा यो समस्या आएको ती अधिकृतले बताए। ‘यति तिब्रगतिमा सवारी हाकिएको छ की उनीहरुमा जोखिम महसुस नै हुँदैन,’ उनले भने, ‘घुम्तीमा त सवारी नियन्त्रणमै ल्याउन नसक्ने गरि तिब्रगतिमा सवारी चलाउने गरिएको छ।’ राजमार्गको दमौली र डुम्रेमा ६ लेनको सडक निर्माण गरिएको छ। तर, ती दुइ सहरी क्षेत्रबाहेक अन्यत्रको खण्ड भने २–२ लेनको रहेको छ।
राजमार्गको सुरुको डिजाइन गर्दा यो खण्डमा दिनमा बढीमा पाँचहजार संख्यामा सवारी गुड्ने अनुमान थियो। पोखरा मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा प्रमुख इन्जिनियर कृष्ण कुँवरका अनुसार राजमार्गमा दुर्घटनाको हिसाबले जोखिमयुक्त ठाउँ पहिचान गर्ने काम भईरहेको छ। ‘चिल्लो बाटो देखेपछि सवारीको गति बढाउँदा दुर्घटनाको जोखिम थपिएको हो। अहिलेसम्म सडक पुरा भएकै छैन। तर, सवारीको गति कालोपत्रे सडक देखेपछि बढेको छ,’ कुँवरले भने, ‘कतिपय ठाउँमा डाईभसर्न छन । तर,चालकलाई त्यसमा हेक्कै छैन।’
निमार्णाधिन उक्त सडकखण्डमा प्रतिघण्टा २० र अन्यत्र डाइभर्सन भएको ठाउँमा ३० किलोमिटरको दरले मात्र सवारी चलाउन पाउने भनिएपनि चालकले अटेर गर्ने गरेको उनले बताए। ‘कतिपय सडकको खण्ड त अहिले पनि एकतर्फी छ। तर सवारी दुइतर्फी चलेका छन। त्यसले पनि समस्या थपिएको हो, उनले भने,’ दुइतर्फी सडक तयार भएपछि त अहिलेभन्दा थप व्यवस्थित गर्नैपर्छ। जेब्राक्रसदेखि सिसिटिभी राखेर भएपनि निगरानी बढाउनुको विकल्प छैन।’ उनका अनुसार अहिले पनि ६० किलोमिटर भन्दा बढीको गतिमा सवारी चलाउन पाइँदैन। तर, चालकले ती सबै नियम उल्लंघन गर्ने गरेका छन।
प्रकाशित: ३ भाद्र २०८२ १८:४३ मंगलबार





