पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारिरह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले बेवास्ता गरेपछि २०६९ भदौमा आन्दोलन घोषणा गर्दै रिले अनशन थालियो। विमानस्थल बनाउन दबाब दिने उद्देश्यका साथ २०६९ भदौ ७ गतेबाट पोखराले रिले अनशन पनि सुरु गर्यो।
पोखराको पुरानो विमानस्थलको मूल गेटअगाडि झन्डै तीन महिना चलेको अनशन २०६९ मंसिर २ गते तोडियो। १५३औं शृंखलामा अनशन तोडिएको अनशनमा राजनीतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो।
विमानस्थल निर्माणमा दबाब दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरणसमेत रोकिदियो। हवाई टिकट बिक्रीमा रोक लगाउनेलगायत सर्वत्र दबाबमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो।
पोखरेलीको तारन्तार दबाबपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै नै ठुलो अपेक्षा गरेको थियो। विमानस्थलका पूर्वाधार बनाउन थालेसँगै पर्यटन क्षेत्रले धमाधम लगानी पनि बढाएको थियो। अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म सिधै पहुँच विस्तार गर्ने अवसर भन्दै पर्यटन क्षेत्रको लगानीमा समेत पोखरा हौसियो।
यहाँका व्यावसायीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि विदेशी पाहुना सिधै पोखरा ओर्लने सम्भावना देखेर लगानी बढाएका थिए। व्यवसायीलाई लगानीमा उत्साह जगाउँदै गण्डकी प्रदेश सरकारले विमानस्थल सञ्चालनमा आएपछि पोखराका होटल क्षेत्रले पाहुनाको मागलाई धान्न नसक्ने अवस्था आउने भन्दै विशेष गरी होटल क्षेत्रमा लगानी गर्न व्यावसायीलाई अनुरोध पनि गरेको थियो।
तर विमानस्थल बनेकै कारण हौसिएका पर्यटन व्यावसायी अहिले सोचेजस्तो हुन नसकेको र पोखराले अपेक्षा गरेअनुसारको लाभ लिन नसकेको बताउन थालेका छन्। सञ्चालनको साढे तीन वर्ष नाघिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाकृत लाभ पर्यटन क्षेत्रले नपाएको उनीहरूको भनाइ छ। यो विमानस्थल २०६९ पुस १७ देखि नियमित सञ्चालनमा आएको हो तर अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल सञ्चालनमा आएदेखि केही चार्टर र सीमित सेड्युल उडान भए पनि तिनले निरन्तरता पाउन नसक्दा अहिले विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर हामी निकै नै आशावादी थियौं तर आशा गरेअनुरूप भएन। यो अवधिमा पोखराको पहिचान केही फराकिलो भने भयो। अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको पहिचान अन्तर्राष्ट्रिय बजारमा बढेको छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी) का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘तर हामीले सोचेझैं लाभ लिन भने सकेनौं।’
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल माग गर्दैगर्दा व्यवसायीसँग निकै नै ठुलो अपेक्षा रहे पनि त्यो अपेक्षा अहिलेसम्म पूरा नभएको उनले बताए। उनका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि व्यवसायीले पर्यटन क्षेत्रमा ठुलो लगानीसमेत थपेका थिए। होटलमा लगानी बढेको थियो। ट्राभल, रेस्टुरेन्ट क्षेत्रमा पनि उत्तिकै लगानी बढेको थियो तर लगानी बढे पनि विमानस्थलको लाभ लिन भने ढिला भएको उनले बताए।
‘अब हामी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लाभ लिने अवस्थामा आएका छौं। निकट भविष्यमा अन्तर्राष्ट्रिय उडानबाट पोखराको हवाई सञ्जाल फैलिँदै छ। विमानस्थल सञ्चालनमा आएकै दिनदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्थ्याे तर त्यो हुन सकेन,’ उनले भने, ‘सेड्युल उडान नभएको पनि होइन तर गन्तव्यअनुसारको उडान हुन नसक्दा त्यसले निरन्तरता पाउन सकेन।’
अहिलेसम्मका ती सबै उडानले अबको नियमित उडानलाई बल पुगेको उनले बताए। ‘अब भने हामी आशावादी छौं। अहिलेसम्म सोचेजस्तो नभएको मात्र हो तर अहिले नै विमानस्थलका कारण निरास बन्नुपर्ने अवस्था आएको छैन,’ श्रेष्ठले भने, ‘आन्तरिक उडानका हिसाबले त पोखराले फड्को नै मारेको हो। त्यसबाहेक बेलाबेला चार्टर उडान पनि भए। उद्धार उडान पनि पुष्टि भयो। केही सेड्युल उडान पनि भएका हुन्। ती सबै उडानले निरन्तरता दिन नसके पनि अब भने निरन्तर उडानको पर्खाइमा पोखरा छ। हाम्रा लागि अबको उडानको प्रतीक्षा छ। त्यो उडान सफल हुन सके पोखराको पर्यटनले फड्को मार्ने छ।’
पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदै छ। प्रारम्भिक रूपमा एक महिनाका लागि यो रुटमा उडान गर्न फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति लिएको छ। सेप्टेम्बर २३ बाट सुरु हुने पहिलो उडान एक महिनापछि २४ अक्टोबरमा सकिने छ। व्यावसायीले फ्लाई दुबईको यो उडानसँग निकै नै आशावादी रहेको बताउँदै आएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला पनि पर्यटनमै जोड दिने भनेर पोखरामा विमानस्थल बनेको भए पनि सञ्चालनको साढे तीन वर्ष अवधिमा आपेक्षाअनुसार नभएको बताउँछन्। आन्तरिक उडानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले फड्को मारे पनि अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसक्दा अपेक्षाकृत हुन नसकेको उनले बताए। ‘जसरी अहिले स्थलमार्गबाट पोखरामा भारतीय पाहुना आए, त्यस्तै आकारमा हवाई उडानबाट पोखरामा भारतीय पर्यटक उतार्न सक्ने हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्छ। तर त्यसका लागि पोखरा र भारतबिच उडान सम्पर्क विस्तार हुनुपर्छ,’ उनले भने, ‘स्थलमार्गबाट आउँदा त पोखराले यो पटक भारतीय पाहुनाको चाप थेग्न सकेन। हवाईमार्गबाट पाहुना भित्र्याउन सक्ने हो भने विमानस्थललाई पनि त्यो चाप थेग्न मुस्किल पर्छ। तर त्यसका लागि पोखरा र भारतीय सहर हवाई सञ्जालले जोडिनुपर्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग पर्याप्त सम्भावना रहे पनि अहिलेसम्म आशा गरेअनुरूप हुन नसकेको उनले बताए। ‘छिमेकी मुलुकसँग कूटनीतिक पहल जारी छ। अहिले नै आत्तिनुपर्ने होइन तर सोचेअनुरूप हुन भने नसकेको हो,’ उनले भने।
अब भविष्यमा पोखराबाट हुन थालेको फ्लाई दुबईको उडानले पनि आफूहरूलाई केही आशावादी बनाएको उनले बताए। आगामी केही महिनापछि अन्तर्राष्ट्रिय उडानको तयारी भइरहँदा पोखरा आशावादी बने पनि त्यसका लागि मेहनत गर्नुपर्ने उनले बताए।
‘पुरानो विमानस्थलबाट सूर्यास्त नहुँदै आन्तरिक उडान पनि बन्द हुन्थे। अहिले आन्तरिक उडानबाट पोखरा क्षेत्रले पर्याप्त लाभ लिएको छ तर त्यो नै विमानस्थलबारे चित्त बुझाउने ठाउँ होइन,’ निरौलाले भने, ‘विमानस्थल अरू व्यावसायजस्तो पनि होइन, तत्काल लाभ मिल्ने पनि होइन तर अहिलेसम्म पोखराले लाभ लिइसक्नुपर्नेमा त्यो हुन नसकेको हो, लाभ लिन ढिला भने पक्कै भएको हो।’
पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्न राज्यले यात्रुका लागि दिनुपर्ने केही सेवासुविधा पोखरामै विस्तार हुनुपर्ने पनि उनले बताए।
प्रकाशित: ३१ असार २०८३ ०८:२१ बुधबार





