इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको हो।
चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र विक्री गरिए कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले वातावरण विभागले २०७९ साउन ९ मा सूचना जारी गरी नेपालमा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र विक्री–वितरणमा रोक लगाएको स्मरणसमेत गराएको छ।
जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचनाअनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ।
इलाम नगरपालिकाले समेत प्लास्टिकजन्य फूलगुच्छा र मालाको उत्पादन, भण्डारण, आयात र विक्री–वितरण नगर्न सूचना जारी गरेको छ।
इलाम नगरपालिका यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको पनि नगरले जनाएको छ।
नगरले पनि प्लास्टिकजन्य माला, फूललगायत प्रयोग, भण्डारण, आयात र विक्री नगर्न सचेत गर्दै कसैले सूचना विपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ।
इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले प्रशासन र नगरले सूचना ढिलो जारी गरेका कारण व्यवसायीलाई भने आर्थिक क्षति भएको बताए।
उनले प्लास्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध लगाउने निर्णय वातावरण संरक्षण, स्थानीय फूल खेतीको प्रवर्द्धन र आयात प्रतिस्थापनका दृष्टिले स्वागतयोग्य भए पनि कम्तीमा १० दिनअघि नै यस्तो सूचना आउँदा चाहिँ आर्थिक क्षति हुन नपाउने जनाएका छन्।
‘जिल्ला प्रशासन कार्यालय र नगरपालिकाबाट जारी सूचनाबारे कम्तीमा १० दिनअघि नै जानकारी गराइएको भए व्यवसायीले यस्ता सामग्री बेचबिखनका निमित्त ल्याउँदैन थिए। आफ्नो मौज्दात व्यवस्थापन गर्न र सम्भावित आर्थिक क्षति कम गर्न सक्थे,’ उनले भने, ‘नीति राम्रो हुनु मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयन पनि व्यावहारिक र व्यवसायीमैत्री हुनुपर्छ।’
प्रकाशित: १८ कार्तिक २०८३ १८:१८ बुधबार





-600x400.jpg)