व्यवसाय सुरु गर्ने क्रममा विभिन्न प्रकारका अन्योल र चुनौती देखिन्छन्। व्यवसाय सफल होला कि नहोला, सुरु गरेपछि आम्दानी गर्न सकिएला कि नसकिएला, जसोतसो सुरु गरेको व्यवसाय टिकाउन सकिएला कि नसकिएला, व्यवसाय सञ्चालनका लागि ऋण कहाँबाट लिने र ऋण पाइएला कि नपाइएला भन्ने जस्ता प्रश्नले नयाँ उद्यमीलाई अन्योलमा पार्ने गर्छन्। यस्तै समस्याका कारण कतिपयले चाहना हुँदाहुँदै पनि तत्कालै व्यवसायमा हात हाल्ने आँट गर्दैनन्।
यही अवस्थालाई मध्यनजर गर्दै ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ। नीति रिसर्च प्रालिले आयोजना गरेको उक्त समिटमा लगानीका नयाँ अवसर, चुनौती, लगानीको खोजी, लगानीका क्षेत्र तथा लगानीको सुरक्षालगायत विषयमा छलफल गरिएको छ।
छलफलमा सहभागीहरूले स्वदेशमै उत्पादन गरी आर्थिक लाभ लिन सकिने गरी योजना बनाउन सुझाव दिएका थिए। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिकाबारे बहस गर्दै लगानीका अवसर बढाउन आवश्यक स्रोतसाधनको खोजी र सहकार्यका उपायबारे वक्ताहरूले सुझाव दिएका थिए। कार्यक्रममा नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअपमार्फत युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बनाउने लक्ष्य राखिएको बताइन्।
देश निर्माण गर्ने हुटहुटी र युवालाई उद्यमशीलतामार्फत स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले स्टार्टअप नेपाल समिट–२०२६ आयोजना गरिएको अध्यक्ष ज्ञवालीले बताइन्। उनका अनुसार कार्यक्रममार्फत युवालाई व्यावसायिक क्षेत्रमा नवीनतम सोच र आइडिया सिर्जना गर्न, योजना निर्माण तथा कार्यान्वयन गर्न र एआई तथा डिजिटल प्रविधिको प्रयोगमार्फत विश्व बजारसँग जोडिन मार्गदर्शन गरिनेछ।

‘अब जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान तथा सीपलाई नेपालमै उपयोग गर्ने अभियान समिटको मुख्य लक्ष्य हो,’ उनले भनिन्।
यसअघि महिला उद्यमी महासंघ नेपालको अध्यक्ष रहँदा महिला उद्यमशीलताका क्षेत्रमा काम गरेको अनुभवका आधारमा अहिले युवालाई स्टार्टअपतर्फ आकर्षित गर्न खोजिएको उनले बताइन्। युवाका नवीन सोच र योजनालाई कार्यान्वयन गर्ने अवसर तथा प्लेटफर्म उपलब्ध गराउनु आवश्यक रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ।
स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनका लागि सरकारले आफ्नै निकायबाट सुरुवात गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ज्ञवालीले उत्पादनको गुणस्तरसँगै लेबलिङ, प्याकेजिङ र ब्रान्डिङमा पनि ध्यान दिनुपर्ने बताइन्। स्टार्टअपका लागि राज्य, निजी क्षेत्र र बैंकबाट उपलब्ध सहयोग तथा सुविधाबारे युवालाई जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको र यसले व्यवसायी तथा लगानीकर्तालाई अवसर दिलाउने उनको भनाइ छ।
‘व्यवसाय गर्न चाहेको नयाँ पुस्ता कताकता अलमलिएको छ। उनीहरूलाई उचित मार्गदर्शन गर्न नसक्दा व्यवसायमा हात हाल्न सकेका छैनन्। कस्तो आकारको व्यवसाय गर्न सकिन्छ र कसले सहयोग गर्छ भन्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘यो कार्यक्रममार्फत लगानीकर्ता, व्यवसाय सुरु गर्न चाहने नवयुवा, व्यवसायका क्षेत्र र अवसरबारे जानकारी प्राप्त हुनेछ।’
यस्ता कार्यक्रमले युवालाई स्वदेशमै रोक्न र उनीहरूलाई उद्यमशील बनाई लगानीमा आकर्षित गर्न सकिने उनले बताइन्। ज्ञवालीका अनुसार पहिलो चरणमा पोखरामा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको हो। यस्तै कार्यक्रम अन्य छवटै प्रदेशमा पनि सञ्चालन गरिनेछ। अन्तिममा छवटै प्रदेशबाट प्राप्त सुझावसहित काठमाडौंमा पनि सम्मेलन आयोजना गरिने उनले बताइन्।

‘सबै प्रदेशमा फरकफरक सम्भावना छन्। एक प्रदेशको सम्भावना अर्को प्रदेशमा नमिल्न सक्छ। त्यसैले पनि सबै प्रदेशका फरक अनुभव र व्यावसायिक क्षेत्र समेट्ने प्रयास गरिएको हो,’ उनले भनिन्, ‘गण्डकी प्रदेशमा पर्यटनको सम्भावना रहेजस्तै अन्य प्रदेशमा फरक क्षेत्रको सम्भावना रहेकाले सबैको अनुभव लिन खोजिएको हो।’
उनका अनुसार प्रत्येक प्रदेशबाट उत्कृष्ट आइडिया र सम्भावना भएका चारदेखि पाँचवटा स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम कार्यक्रम आयोजना गरिनेछ। त्यस अवसरमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग नेपाली स्टार्टअपलाई जोड्ने, प्रारम्भिक पुँजी तथा बैंकिङ साझेदारीको वातावरण बनाउने योजना रहेको उनले बताइन्।
युवामा सपना देख्ने, सिर्जनशील बन्ने र उद्यम गर्ने संस्कार विकास गर्दै स्वदेशी उत्पादन र उद्यमीलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु समिटको मूल उद्देश्य रहेको उनले बताइन्।
‘युवालाई अगाडि बढ्नुपर्छ भनेर मात्रै हुँदैन, उनीहरूका लागि आवश्यक अवसर पनि सिर्जना गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलासँग के छैन भनेर होइन, उनीहरूसँग भएका क्षमता, काम गर्ने जाँगर, उत्साह र व्यवस्थापकीय सीपलाई अवसरमा बदल्नुपर्छ।’
युवासँग प्रशस्त नवीन विचार र तिनलाई कार्यान्वयन गर्ने सामर्थ्य रहेको भन्दै उनले ती विचारलाई व्यवहारमा उतार्न आवश्यक अवसर, मार्गदर्शन, प्रस्तावना निर्माणदेखि व्यवसाय सञ्चालनसम्म सहयोग पुर्याउनु स्टार्टअप समिटको योजना रहेको सुनाइन्।
‘युवा सक्षम भए परिवार सक्षम हुन्छ, परिवार सक्षम भए समाज र अन्ततः देश नै समृद्ध बन्छ भन्ने विश्वासका साथ यो अभियान अघि बढाइएको हो,’ उनले भनिन्।
सरकारले व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउने, स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा सहज रूपमा उपलब्ध गराउने, कर्जाको सीमा बढाउने र बिनाधितो ऋण दिने व्यवस्था गर्नुपर्ने पनि ज्ञवालीको सुझाव छ। नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनले बताइन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगतमा प्रदान गरिएका अनुदानको अपेक्षाकृत सदुपयोग हुन नसकेको बताए। प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको उनले जानकारी दिए।
सरकारले उद्योग र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै पुलको काम गरिरहेको उनको भनाइ छ। स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई अनुदानको व्यवस्था गरिए पनि सुरुवाती उत्साह र उमङ्गअनुसार पछिल्लो समय अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनले टिप्पणी गरे।
‘कतिपय स्टार्टअपहरू कार्यक्रममा सहभागी नै नभएको र सहभागी भएकाहरूले पनि अपेक्षाअनुसार काम गर्न सकेनन्,’ उनले भने। पुरानालाई गाली गरेर मात्र देश नबन्ने भन्दै उनले आफूहरूलाई प्रतिस्थापन गर्ने गरी आउन युवाहरूलाई सुझाव दिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्टार्टअप देशको आवश्यकता भएको बताए। नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्नु नै स्टार्टअपको मुख्य उद्देश्य भएको उनको भनाइ छ। स्टार्टअप आफैँले रोजगारी खोज्ने माध्यम नभई अरूलाई समेत रोजगारी दिने उद्यम विकास गर्ने प्रक्रिया भएको उनले बताए।
पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत स्टार्टअप तथा उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। उद्यम गर्न चाहनेलाई तालिम, सुरुवाती पुँजी (सिड मनी) उपलब्ध गराउनुका साथै व्यवसाय सञ्चालनका क्रममा समस्या आएमा बिजनेस क्लिनिकमार्फत आवश्यक परामर्श र सहजीकरण गर्दै आएको उनको भनाइ छ। विद्यार्थीलाई पढाइ पूरा भएपछि विदेश जाने सोच बनाउनुभन्दा स्वदेशमै केही गर्ने र उद्यमशील बन्ने लक्ष्य राख्न उनले आग्रह गरे।

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले स्टार्टअपमा युवाहरूको भविष्य रहेको बताए। प्रविधिसँग जोडिएर नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतामा रूपान्तरण गर्न सके आफ्नै देशमा धेरै सम्भावना र अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ।
स्टार्टअप विकासका क्षेत्रमा पाकिस्तानको पनि राम्रो अनुभव रहेको उल्लेख गर्दै उनले प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिएर युवाहरूले स्वदेशमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्न सक्ने बताए। त्यसको सुरुवात गर्ने उद्देश्यले आयोजित स्टार्टअप समिटमा पाकिस्तानी राजदूतावासले पनि सहकार्य गरेको उनको भनाइ छ।
गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले नेपालमा अथाह सम्भावना रहेकाले स्टार्टअप तथा उद्यमशीलताको भविष्य उज्ज्वल रहेको बताइन्। देशमा पर्याप्त प्राकृतिक स्रोतसाधन र युवा जनशक्ति उपलब्ध रहेकाले तिनको उचित सदुपयोग गर्दै नवीन सोच र सिर्जनशीलताका साथ उद्यम गर्न उनले युवालाई सुझाव दिइन्। स्वदेशमै उपलब्ध स्रोत र सम्भावनाको पहिचान गरी उत्पादन तथा रोजगारी सिर्जनामा लाग्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा सहभागी बैंकका प्रतिनिधिहरूले उत्कृष्ट व्यावसायिक अवधारणा, प्रभावकारी प्रस्तावना र स्पष्ट बिजनेस प्लान प्रस्तुत गर्न सकेमा धितोबिनै पनि स्टार्टअपका लागि कर्जा उपलब्ध गराउन सकिने बताएका थिए। कर्जा प्रवाह गर्नुअघि सम्बन्धित व्यवसायको सम्भावित भविष्य, व्यावसायिक योजना र ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कन गरिने उनीहरूको भनाइ थियो।

नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले स्टार्टअप प्रवर्द्धनमा बैंकिङ क्षेत्रले पुर्याउँदै आएको सहयोगबारे प्रस्तुति दिएका थिए। उनीहरूले स्टार्टअप तथा नवउद्यमीलाई बैंकले उपलब्ध गराउँदै आएका वित्तीय सेवा, कर्जा सुविधा र उद्यम विकासमा बैंकको भूमिकाबारे जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्टार्टअपका लागि कर्जा उपलब्धता, व्यावसायिक जोखिम र बैंकको जिम्मेवारीबारे जिज्ञासा राखेका थिए। विद्यार्थी जोन श्रेष्ठले विदेश जाने प्रयोजनका लागि सहजै ऋण उपलब्ध हुने अवस्था भए पनि स्वदेशमै उद्यम गर्छु भन्दा बैंक र अभिभावकले विश्वास गर्ने आधार के हो भन्दै प्रश्न गरे। युवाले नवीन सोच र व्यावसायिक योजनासहित कर्जा लिएर स्टार्टअप सुरु गर्दा व्यवसाय घाटामा गए त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने र व्यावसायिक जोखिमको जिम्मेवारी कसको हुने भन्ने उनको जिज्ञासा थियो।
त्यस्तै, विद्यार्थी इस्मि श्रेष्ठले विदेश जान्छु भन्दा अभिभावकले ऋण तथा आर्थिक सहयोग गर्ने तर स्वदेशमै केही गर्छु भन्दा आवश्यक सहयोग नगर्ने प्रवृत्तिबारे प्रश्न उठाइन्। यस्तो अवस्थामा अभिभावकले धितो उपलब्ध नगराए पनि बैंकले बिनाधितो कर्जा दिन सक्छ कि सक्दैन भन्ने उनको जिज्ञासा थियो।
कार्यक्रममा विद्वत् प्रवचन दिँदै इन्जिनियर उमेशकुमार गुप्ताले यस्ता कार्यक्रममार्फत बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई जोड्न सकिने बताए।
‘लगानीकर्ताका लागि कतिपय अवस्थामा अवसरको खाँचो हुन्छ। अभाव र अन्योलको अवस्थामा यस्ता कार्यक्रमले पुलको काम गर्नेछन्,’ उनले भने।
प्रकाशित: १८ कार्तिक २०८३ १८:३२ बुधबार





-600x400.jpg)