नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानअनुसार सम्पन्न भएको दाबी गर्दै पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई नियोजित प्रचारको संज्ञा दिएका छन्।
उनका अनुसार पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधिहरू सहभागी भएर विशेष महाधिवेशन सम्पन्न गरेका हुन्। निर्वाचन आयोगले निर्णय गरिसकेको र त्यसविरुद्ध अदालतमा समेत बहस भई फैसला आइसकेको अवस्थामा पुनः प्रश्न उठाइनु निर्वाचन आयोग र न्यायालयको निर्णयमाथि अनावश्यक शंका सिर्जना गर्ने प्रयास भएको उनको भनाइ छ।
‘नेपाली कांग्रेस पार्टी विधानको प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा छ। यो विषयमा नेपाली कांग्रेस पार्टी पटक–पटक अदालतमा बहसमा उभिएको छ। फेरि उभिनुपर्ने अवस्थामा पनि हामी तयार छौँ,’ शर्माले भने।
उनले कांग्रेसको नेतृत्व र पार्टीको वैधानिकताबारे उठाइएका आरोपको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न आफूहरू तयार रहेको पनि स्पष्ट पारे।
शर्माले सरकारले नियन्त्रणमा रहेको व्यक्तिसँग सम्बन्धित विषयलाई किस्ताबन्दीमा बाहिर ल्याएर कांग्रेस नेतृत्वको छवि धमिल्याउने प्रयास गरेको आरोपसमेत लगाए। यस्ता आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ।
प्रकाशित: १८ कार्तिक २०८३ १८:०४ बुधबार





