कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर रसुवाको बाढीमा परी अभिभावक बेपत्ता भएका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ।
सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो।
गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मनीऋषि सञ्ज्याल, उनकी पत्नी मनकला सञ्ज्याल र छोरी सुस्मिता सञ्ज्याल बेपत्ता भएका छन्। अभिभावक बेपत्ता भएपछि बेसहारा बनेका चार बालबालिकालाई सहकारीले खाद्यान्न तथा अन्य उपभोग्य सामग्री सहयोग गरेको सहकारीका शाखा प्रमुख दुर्गाप्रसाद उपाध्यायले बताए।
"बाढीमा परी परिवारका तीन सदस्य बेपत्ता भएपछि चार जना बालबालिका सहाराविहीन बनेका छन्। यस्तो दुःखद् परिस्थितिमा संस्थाले खाद्यान्न र उपभोग्य सामग्री उपलब्ध गराएको हो। बालबालिकालाई केही राहत पुग्ने अपेक्षा गरेका छौँ," शाखा प्रमुख उपाध्यायले भने।
अभिभावक बेपत्ता भएपछि बेसहारा बनेका बालबालिकामा १८ वर्षीया छोरी नमुना सञ्ज्याल, १६ वर्षीय देवेन्द्र सञ्ज्याल, १३ वर्षीया प्रतीक्षा सञ्ज्याल र ११ वर्षीय अनिल सञ्ज्याल रहेका छन्।
तीन वर्षअघि सन्तानको शिक्षादीक्षाका लागि बाजुराबाट टीकापुर आएको सञ्ज्याल परिवार यहाँ भाडामा बस्दै आएको थियो। परिवारको गुजारा चलाउन मनीऋषि, उनकी पत्नी र एक छोरी रसुवाको एउटा जलविद्युत् आयोजनामा काम गर्दथे।
गत भदौ महिनामा भोटेकोशीमा आएको बाढीमा परी उनीहरू तीनै जना बेपत्ता भएपछि बालबालिका बेसहारा बनेका हुन्। सञ्ज्याल परिवारको बसाइँसराइ नभएका कारण स्थानीय तहले कुनै राहत उपलब्ध गराउन सकेको छैन। राष्ट्रिय मानव अधिकार आयोगको टोलीले निरीक्षण गरेर गएको बालबालिकाले बताएका छन्।
छोरी नमुना भन्छिन्, "आमाबुवा र दिदी बेपत्ता भएपछि अब भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ। जसोतसो उनीहरूको लालनपालन गरिरहेकी छु।"
संस्थाका ४० वटै शाखाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा समुदायस्तरमा विभिन्न सामाजिक क्रियाकलाप गरेको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताएका छन्।
वि.सं. २०५२ साल कात्तिक १७ गते स्थापना भएको सहकारी संस्थाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको राजापुर नगरपालिकासहित आफ्नो कार्यक्षेत्रमा रहेका ७५ हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाले वित्तीय सेवासँगै कृषि उत्पादन, बजारीकरण, कृषि बीउ प्रशोधन, माटो परीक्षण एवं सहकारी पसलमार्फत सेवा दिँदै आएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १७:४३ बुधबार





