वैयक्तिक गोपनीयता हननको कसुरमा पक्राउ परेका जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई ३ दिन म्याद थप गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक समेत रहेका श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयताको हनन्सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, पत्रकार श्रेष्ठको गिरफ्तारीलाई लिएर पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाहरूले विरोध जनाएका छन्। प्रहरी कारबाहीलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै श्रेष्ठको बिनाशर्त रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शनहरू भइरहेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ १८:३९ बिहीबार





