कीर्तिपुरस्थित एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेकी सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका सहयोगी टासी भन्ने लीलाबहादुर लामामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सशस्त्र प्रहरी बलका डीआईजी युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको थियो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलको आम्दानी सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम आफ्ना साथी लीलाबहादुर लामाको बैंक खातामा स्थानान्तरण गरेको आरोप लागेको छ। उनीमाथि करिब ११ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।
प्रहरी स्रोतका अनुसार गुरुङले कनेक्ट आईपीएसमार्फत रकम स्थानान्तरण गर्ने क्रममा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग्विजय सुवेदीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरेकी थिइन्।
अनुसन्धानबाट कनेक्ट आईपीएस प्रयोग गरी लीलाबहादुर लामा सञ्चालक रहेका तीन कम्पनीको खातामा रकम पठाइएको खुलेको छ। ती कम्पनीमा एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालि रहेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित: २२ असार २०८३ १९:४६ सोमबार





