विद्युतीय सवारीप्रेमीमाझ चासो बढाउँदै चेरि क्यू काठमाडौंमा देखिएको छ। आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत यो विद्युतीय अर्बन क्रसओभरले नेपालमा औपचारिक डेब्यु गर्ने भएको छ।
नेपालमा चेरिको आधिकारिक वितरक **पायोनियर मोटो कर्प प्रा.लि.**ले चेरि क्यूलाई नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक रूपमा प्रदर्शन गरिने पुष्टि गरेको छ। एक्स्पोमा आगन्तुकले पहिलोपटक गाडीलाई नजिकबाट अवलोकन तथा अनुभव गर्न पाउनेछन्।
चेरि क्यूलाई कम्पनीको नयाँ पुस्ताको विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ। गाडीमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटर क्षमताको फ्रंक स्पेस तथा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीजस्ता सुविधा रहेका छन्। त्यस्तै, २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको चेरि क्यूमा आकर्षक डिजाइनसँगै स्मार्ट प्रविधिलाई प्राथमिकता दिइएको छ। कम्पनीका अनुसार यस गाडीले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ।
काठमाडौंका सडकमा गाडी देखिएसँगै यसको डिजाइन, प्रविधि र सम्भावित मूल्यबारे सामाजिक सञ्जालमा समेत चर्चा बढेको छ। नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक भएपछि यसको मूल्य, भेरियन्ट तथा उपलब्धताबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।
प्रकाशित: २२ श्रावण २०८३ २०:०० शुक्रबार





