बाह्र दिनदेखि प्रतिबन्धित मध्यपूर्व क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका हुन्।
अमेरिका-इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो।
सोही कारण नेपालबाट जाने केही अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन्। युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयर स्पेस बन्द’ गर्ने निर्णय गरेका थिए।
प्रवक्ता बस्नेतले मध्यपूर्व क्षेत्रको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए।
‘उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्’, उनले भने, ‘आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन्।’
त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ। एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १४:५४ बुधबार



-600x400.jpg)

