यस वर्ष कोशी प्रदेशका १४ वटा जिल्ला मध्ये पाँचथर जिल्ला प्रहरी कार्यालय कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट भएको हो।
कार्यसम्पादन सम्झौतामा पाँँचथर प्रथम भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीले पाँचथर जिल्ला सर्वोत्कृष्ट भएको घोषणा गर्दै पुरस्कार प्रदान गरेका छन्। त्यस क्रममा कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयले गत श्रावणदेखि असार मसान्तसम्म गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए।
सम्झौता अनुसारको कार्य सम्पादन मूल्याङ्कन गर्दा पाँचथर प्रहरीले सबै लक्ष्यमा ९४.८२ प्रतिशत पुरा गरेको पाइएपछि “सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय” घोषणा गरिएको थियो। कार्यक्रममा डिआईजी कार्कीले पाँचथरका प्रहरी प्रमुख कौशल कुमार बुढाथोकीलाई प्रशंसा–पत्रसहित बधाई तथा आगामी दिनमा अझ प्रभावकारी सेवाका लागि शुभकामना दिए।
अपराध अनुसन्धानदेखि आर्थिक अनुशासनमा उत्कृष्ट काम गरको आधारमा डिएसपी बुढाथोकी नेतृत्वको जिप्रका पाँचथरको प्रहरी सर्वाेत्कृष्ट भएको डिआइजी कार्कीले बताएका थिए।
प्रकाशित: ११ श्रावण २०८२ १०:५३ आइतबार





