११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

पाल्पा पहिरो: सुतिरहेकै बेला घर पुरिँदा ३ सहित जिल्लाभर पाँच जनाको मृ’त्यु

लगातारको वर्षासँगै पाल्पाका विभिन्न स्थानमा खसेको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। माथागढी गाउँपालिकामा सुतिरहेकै बेला घर पुरिएर बेपत्ता भएका तीनै जनाको शव भेटिएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका-३ कसेनी भैँसीकट्टामा आइतबार बिहान पहिरोले स्थानीय लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरेको थियो।

पहिरोमा परी बेपत्ता भएका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव फेला परेको हो। सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरोबाट तीनै जनाको शव निकालिएको हो।

यसअघि आज बिहान जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा परी अन्य दुई जनाको मृत्यु भएको थियो। माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परेर ज्यान गएको हो।

चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, सारुको भने घटनास्थलमै पुरिएको अवस्थामा शव निकालिएको थियो।

पहिरोमा परी ज्यान गुमाएका पाँचै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

प्रकाशित: ११ आश्विन २०८३ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App