१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बगर हेरेर टोलाउँछन् विद्यार्थी, न घर रह्यो, न कापी-किताब

बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलाका सन्दीप रेग्मी अचेल दिनभर बगर बनेको आफ्नै घरको भग्नावशेष हेरेर टोलाइरहन्छन्। असोज ११ गते आएको बाढीले उनको घर मात्र बगाएन, विद्यालय जाने कापी-कलमसमेत बाँकी राखेन।

पढ्ने विद्यालय नै क्षतिग्रस्त भएपछि उनीजस्ता बागलुङका झन्डै १३ सय विद्यार्थीको भविष्य यतिखेर अन्योलमा परेको छ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका चार स्थानीय तहका १ हजार २९७ बालबालिकाको पठनपाठन प्रत्यक्ष प्रभावित भएको छ। आँखाअगाडि घर, विद्यालय र सडक बाढीपहिरोले पुरेको देखेका बालबालिकाहरूमा खोला फेरि बढ्ने र पहिरो खस्ने त्रास कायमै छ।

ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माका अनुसार पहिरोबाट सबैभन्दा बढी ताराखोलाका पाँच विद्यालयका ८४५ विद्यार्थी प्रभावित बनेका छन्। पहिरोले वडा नं. ५ का तीन र वडा नं. ४ का दुई विद्यालयका भौतिक संरचना ध्वस्त बनाएको छ।

ताराखोला-५ स्थित दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पुरिएको छ। सोही वडाका त्रिशूली प्राथमिक विद्यालय र लावाङ प्राथमिक विद्यालयमा क्षति पुगेको छ।

त्यस्तै, वडा नं. ४ को नेपाल माध्यमिक विद्यालय र युवावर्षा प्राथमिक विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको छ। क्षतिग्रस्तमध्ये दुई विद्यालयमा वैकल्पिक व्यवस्था गरी पढाइ सुरु गरिए पनि नेपाल मावि, लावाङ प्रावि र दुर्गाभवानी माविमा अझै पठनपाठन सुरु हुन सकेको छैन।

निसीखोला गाउँपालिका-४ झिवाखोलास्थित बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा बाढी पस्दा ३७० बालबालिका प्रभावित भएका छन्।

विद्यालय भवन तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहे पनि छिट्टै वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिए।

यता बडिगाड गाउँपालिकामा हावाहुरी र पहिरोले दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन्। वडा नं. ५ को भिरकटेराताल प्रावि र वडा नं. ३ को कञ्चनादेवी प्राविका बालबालिकालाई स्थानीय घर तथा सामुदायिक भवनमा राखेर पठनपाठन गराउने तयारी भइरहेको शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले बताए।

उता तमानखोला गाउँपालिका-४ स्थित सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याउँदा ११ बालबालिका प्रभावित भएका छन्।

भवन अझै पनि जोखिममा रहेकाले बालबालिकालाई तत्काल त्यहाँ लैजान सकिने अवस्था नरहेको गाउँपालिकाका विपद् व्यवस्थापन स्रोत व्यक्ति मुना विश्वकर्माले जानकारी दिइन्।

प्रकाशित: १७ आश्विन २०८३ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App