चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
मृत्यु हुनेमा तनहुँ भिमाद -२ बस्ने २९ वर्षीय किशन विश्वकर्मा रहेका छन्। अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १६ भाद्र २०८२ १७:३७ सोमबार





