झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए।
यमबहादुर घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन्।
प्रनाउ खड्काले घटनाको जानकारी आज प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित: ७ पुस २०८२ १८:०७ सोमबार





