अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधार ध्वस्त पार्ने कडा चेतावनी दिएको केही घण्टाभित्रै इरानले इजरायली आणविक केन्द्र नजिक क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानले शनिबार राति इजरायलको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्र' नजिकैका दुई सहर डिमोना र अरादमा शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
फ्लोरिडास्थित आफ्नो निवासबाट सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई 'स्ट्रेट अफ होर्मुज' पूर्ण रूपमा र बिना कुनै अवरोध खोल्न ४८ घण्टाको समय दिएका थिए। उनले भनेका छन्, ‘यदि तोकिएको समयभित्र जलडमरूमध्य खोलिएन भने अमेरिकाले इरानका सबैभन्दा ठूला पावर प्लान्टहरूबाट सुरु गरेर सबै ऊर्जा सुविधाहरू ध्वस्त पारिदिनेछ।’
ट्रम्पको यो अल्टिमेटमपछि इरानले पनि तत्कालै प्रतिक्रिया दिँदै आफ्ना ऊर्जा केन्द्रमा हमला भए क्षेत्रभर रहेका अमेरिकी र इजरायली सैन्य तथा आर्थिक संरचनामा आक्रमण गर्ने चेतावनी दिएको थियो।
इजरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेका कम्तिमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई इजरायली हवाई रक्षा प्रणालीले रोक्न सकेन। ती क्षेप्यास्त्रहरू डिमोना र अरादका आवासीय क्षेत्रमा खसेका थिए। यो युद्ध सुरु भएयता पहिलो पटक इरानी क्षेप्यास्त्रहरू इजरायलको उच्च सुरक्षा घेराभित्र रहेको आणविक केन्द्रको यति नजिक पुग्न सफल भएका हुन्। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले यसलाई ‘युद्धको नयाँ चरण’ भन्दै इजरायलको रक्षा प्रणाली अब सुरक्षित नरहेको दाबी गरेका छन्।
आक्रमणबाट अरादमा कम्तिमा १० वटा अपार्टमेन्ट भवनमा गम्भीर क्षति पुगेको छ। केही भवनहरू भत्किने अवस्थामा पुगेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार एक सयभन्दा धेरै जना घाइते भएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले घटनास्थलमा थप उद्धार टोलीहरू परिचालन गरिएको बताउँदै यसलाई देशको भविष्यका लागि ‘अत्यन्तै कठिन चुनौती’ को रूपमा वर्णन गरेका छन्। यद्यपि, संयुक्त राष्ट्र संघको आणविक निगरानी संस्थाले इजरायली आणविक केन्द्रमा कुनै भौतिक क्षति नभएको उल्लेख गर्दै विकिरणको स्तर सामान्य रहेको पुष्टि गरेको छ।
यसैबिच, इरानले हिन्द महासागरमा रहेको संयुक्त बेलायत-अमेरिका सैन्य अड्डा 'डिएगो गार्सिया' मा पनि दुईवटा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ। यो अड्डा इरानबाट करिब चार हजार किलोमिटर टाढा पर्दछ। सैन्य विज्ञहरूका अनुसार इरानले पहिलो पटक यति लामो दूरीको मारक क्षमता प्रदर्शन गरेको हो, जसले अब युरोपेली राजधानीहरू (बर्लिन, पेरिस, रोम) सम्म पनि इरानी क्षेप्यास्त्रको पहुँच हुन सक्ने देखाएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको 'अपरेसन एपिक फ्युरी' (अमेरिका) र 'रोरिङ लायन' (इजरायल) का कारण हालसम्म इरानमा दुई हजारभन्दा बढी र इजरायलमा १५ जनाको मृत्यु भइसकेको छ। लेबनानमा जारी इजरायली आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि एक हजार पार गरेको छ।
इरानले आफ्नो नातान्ज आणविक केन्द्रमा शनिबार बिहान भएको आक्रमणको बदलामा इजरायलमाथि यो पछिल्लो प्रहार गरेको बताएको छ। युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य ह्वात्तै बढेको छ। खाडी क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ। एजेन्सी
प्रकाशित: ८ चैत्र २०८२ १३:०२ आइतबार





