६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ।

अवैध रूपमा हतियार राखेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका-१७ घर भई हाल सोही नगरपालिकाको वडा नं-६ बस्ने २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। परियारले गोठाटारमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनि लुकाई–छिपाई राखेको अवस्थामा १ थान पेस्तोल र सोको १ थान म्याग्जिन फेला परेको थियो।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार बरामद भएको हो। पक्राउ परेका परियारलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले परियारको आपराधिक पृष्ठभूमि र उक्त हतियार कुन प्रयोजनका लागि लुकाएर राखिएको हो भन्ने विषयमा सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।

पछिल्लो समय उपत्यकामा सुरक्षा सतर्कता बढाएसँगै अवैध हतियार बरामद हुने क्रम बढेको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ २०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App