पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका-९ टिकौलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती २:४५ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा.प्र.०२-०३४ प ५२०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार माडी नगरपालिका-१ गर्दी बस्ने २० वर्षीय तृशल महतोको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा सेन्ट्रल हस्पिटल भरतपुरमा साढे तीन बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै पछाडि सवार सोही स्थानका १९ वर्षीय अंकित महतो ढाडमा चोट लागेर सामान्य घाइते भएका छन्। उनको उपचार सेन्ट्रल हस्पिटलमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ पुस २०८२ ०८:१७ शुक्रबार





