कैलाली टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।
प्रहरीका अनुसार टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले मंगलबार बिहान ९ बजेतिर साइकल र मोटरसाइकल यात्रीलाई ठक्कर दिएको हो।
उनीहरू मध्ये साइकल यात्रीको दुर्घटनामा ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले मृतकको पहिचान खुल्न नसकेको जानकारी दिए। उनका अनुसार मृतक ४०/४५ वर्षका छन्।
प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको थियो भने पछि मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाइते भएका छन्।
उनलाई थप उपचारका लागि टीकापुर अस्पतालले नेपालगञ्ज रिफर गरेको प्रहरीले जानकारी दिएको छ। उनको अवस्था गम्भीर रहेको छ।
प्रकाशित: २७ श्रावण २०८२ १०:३३ मंगलबार





