७ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा विश्वकप हेर्ने क्रममा ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु

तस्बिर: एआई निर्मित

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकप फुटबलको फाइनल खेल हेर्ने क्रममा भएको सामूहिक झडपमा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका २७ वर्षीय राज कार्की रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार गत साउन ४ गते बिहान घ्याम्पेडाँडास्थित ‘थ्री इडिएट्स’ होटलमा विश्वकपको फाइनल खेल हेर्ने क्रममा विभिन्न समूहबीच विवाद भएको थियो।

खेल हेरिरहेका ३/४ वटा समूहबीच सामान्य विवाद चर्किँदै गएर सामूहिक कुटाकुटमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

झडपमा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि सुरुमा भक्तपुर अस्पताल र पछि मध्यपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

झडपका बेला होटलका अन्य कोठाबाट समेत मानिसहरू बाहिर निस्किएपछि घटनास्थलमा ३० देखि ३५ जना जम्मा भएका थिए। धेरै संख्यामा मानिसहरू संलग्न भएकाले घटनाको अनुसन्धान जटिल बनेको प्रहरीको भनाइ छ।

डीएसपी कार्कीका अनुसार घटनामा संलग्नहरूको पहिचानका लागि अहिले शङ्कास्पद व्यक्तिहरूको स्क्रिनिङ गर्ने र बयान लिने काम भइरहेको छ।

‘धेरै व्यक्तिहरूबीच एकैपटक झडप भएकाले कसको प्रहारबाट गम्भीर चोट लाग्यो भन्ने यकिन गर्न अहिले स्क्रिनिङ र बयान लिने काम भइरहेको छ,’ उनी भन्छन्।

प्रकाशित: ५ श्रावण २०८३ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App