बेलका नगरपालिका-४ स्थित लालबजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन्।
सिन्धुलीको भिमानबाट मोरङतर्फ जाँदै गरेको बा ४ ख १६२८ नं. को हायस मदन भण्डारी लोकमार्गको गाईघाट- रामपुर खण्ड लालबजारमा बाढीले बगाएर १५ मिटर दक्षिण पुर्याएर लडाउँदा ४० वर्षीया मञ्जु अधिकारीको निधन भएको प्रहरीले जनाएको छ।
हायसमा सवार २२ मध्ये २१ को सकुशल उद्धार गरिएको तर एक महिला बेपत्ता भएपछि खोजतलासको क्रममा घटनास्थलभन्दा २३ मिटर टाढा धानबारीमा उछिट्टिएर मञ्जु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नखुलेको ठेगानाका बद्री अधिकारीकी श्रीमती भएको प्रारम्भिक जानकारी आएको छ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरीका डिएसपी केदारमान दोङको कमाण्डमा १५ जना र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका ११ गरी २६ प्रहरी घट्नास्थल पुगेर हायसमा सवार यात्रुको उद्धार गरेको हो। घटना अँध्यारो अवस्थामै भएकाले सोमबार १०ः०० बजेपछि मात्र आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने काम भइहेको छ।
हायसमा सवार यात्रुहरूमध्ये मोरङ रंगेली नगरपालिका सखुवाथान बस्ने ७० वर्षीया कुरुकुमारी गौतमको पानीमा भिजी खोकी लागेर विरामी भएको पाइएपछि बेलका नगर अस्पताल रामपुर भर्ना गरेर उपचार भइरहेको छ।
चालक काभ्रेपलान्चोकको बनेपा नगरपालिका १३ का ४१ वर्षीय राजु खड्कालाई इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १९ आश्विन २०८२ १२:२४ आइतबार





