१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

स्रोत नखुलेको चार लाख रुपैयाँसहित एक पक्राउ

हुलाकी सडक खण्डअन्तर्गत मोरङको कटहरीबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङको जहदा गाउँपालिका-२ का २४ वर्षीय विशाल टुडूलाई स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार विराटनगरबाट कटहरीतर्फ जाँदै गर्दा मंगलबार बिहान ढेड बजेतिर कटहरी गाउँपालिका-३ बाट नियन्त्रणमा लिइएको हो।

फागुन २१ हुने निर्वाचन लक्षित गरेर विशेष सुरक्षा रणनीति अनुसार प्रहरी परिचालन गरिएको छ। शान्तिपूर्ण, भयरहित तवरबाट निर्वाचन गराउनका लागि जिल्लाभर व्यापक रूपमा २४ सै घण्टा मुख्य सडकमा मात्रै नभई भित्री सडक, चोकमा प्रहरी तैनाथ हुनुका साथै गाडीबाट मोबाइल गस्ती गरिएको बताउँदै एसपी कटवालले भने, ‘मंगलबार बिहान विराटनगरबाट कटहरी जाँदै गरेको प्रदेश १-०२-००२ च ६६१० नम्बरको पिक अप गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको थियो। पक्राउ परेकाले आफू फलफूल व्यापारी र पैसा उठाएर फर्किएको बताए पनि थप अनुसन्धान भइरहेको छ।’

बरामद भएको रकम, नियन्त्रणमा लिइएको गाडी र चालक टुडूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ फाल्गुन २०८२ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App