१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

छ कार्यालयमा एउटै लेखापाल, मारमा सेवाग्राही

कालीकोट जिल्लामा कर्णाली प्रदेश सरकार अन्तर्गतका दश वटा कार्यालय सञ्चालनमा छन्। अहिले आधा दर्जन सरकारी कार्यालयमा लेखाका कर्मचारीको अभाव छ। एउटै कर्मचारीलाई छ वटा कार्यालयको जिम्मेवारी प्रदेश लेखा इकाई कार्यालय कालीकोटले दिएको पाइएको हो।

प्रदेश लेखा इकाई कार्यालयमा दरबन्दी भएका लेखा अधिकृत विश्वमित्र उपाध्यायले डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, प्रदेश लेखा इकाई, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय गरी ६ वटा कार्यालयको लेखापालको जिम्मेवारी छ। कर्मचारी कम भएपछि एकै व्यक्तिलाई आधा दर्जनभन्दा बढी कार्यालयको जिम्मेवारी दिइएको पइएको हो।

प्रदेश लेखा इकाई कार्यालयका अनुसार उनी छ वटै कार्यालयको काम एक ठाउँमा बसेर गरिरहेका छन्। लेखा अधिकृत विश्वमित्र उपाध्याय पर्या कार्यालयमा नहुने कर्मचारीको रूपमा चिनिँदै आएको स्थानीयको गुनासो छ। एउटै व्यक्तिलाई छ/छ वटा कार्यालयको जिम्मेवारी कुन ऐन अनुसार दिइएको छ भन्दै पत्रकार रत्न कार्कीले मंगलबार कार्यालय प्रमुखहरूको बैठकमा प्रश्न उठाएका थिए।

प्रदेश लेखा इकाई कार्यालयमा दरबन्दी भएका लेखाअधिकृत विश्वमित्र उपाध्यायले प्रदेश अन्तर्गतका कार्यालयमा लेखापाल नभएपछि आफूले छ वटा कार्यालय र्हेर्न बाध्य परेको बताए। उनले भने, ‘मलाई कार्य बोझ छ। अहिले प्रदेश मातहतका कार्यालयमा दरबन्दी अनुसार लेखापाल छैनन्, भएका लेखापाल पनी दुर्गममा आउन मान्दैनन्।’ प्रदेश लेखा इकाई कार्यालय कालीकोटले जिम्मेवारी दिएपछि छ कार्यालयको काम गरेको उनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले लेखापाल र कार्यालय प्रमुखबिचको कुनै न कुनै स्वार्थ जोडिएको प्रश्न उठ्ने गरेको बताए। सेवा प्रवाहमा प्रतिकूल असर पर्दै आएको कुरा पटकपटक उठ्ने गरेको र कार्यालयले लेखाको दरबन्दी समेत माग नगरेको उनको भनाइ छ।

प्रदेश लेखा इकाई कार्यालयमा दरबन्दी भएका लेखा अधिकृत विश्वमित्र उपाध्यायले छ वटा कार्यालयको आन्तरिक लेखा परीक्षण र बजेट निकासा पनि आफैँले लिने गरेका छन्।

प्रदेश लेखा इकाई कार्यालयका प्रमुख रामदत्त देवकोटाका अनुसार अहिले कार्यालयमा लेखापान छैनन्, त्यसैले पनि छ वटा कार्यालय र्हेर्न परेको बताए। उनले लेखापाल विश्वमित्र उपाध्यायले काम गरे अनुसार टियो लिने गरेको र अन्य स्वार्थ केही नभएको बताए। स्वास्थ्य सेवा कार्यालय र जिल्ला आयुर्वेद कार्यालय कालीकोटमा पनी एकै लेखापालले हेर्दै आएका छन्।

प्रदेश लेखा इकाई कार्यालय मातहतमा अहिले चार जना लेखापाल रहेका छन्। कार्यालय स्थापनादेखि प्रदेश लेखा इकाई अन्तर्गतका कार्यालयमा लेखापाल एउटै हुने गरेका गुनासो छ। कार्यालयले लेखापालको दरबन्दी डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, प्रदेश लेखा इकाई, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयले माग नगरेको आरोप कार्यालयलाई लाग्ने गरेको छ।

प्रकाशित: ४ मंसिर २०८२ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App