२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

हिउँदमा वर्षा नहुने र चिसो नबढ्ने

मौसमविद्हरूले यसपालिको हिउँदमा वर्षाको सम्भावना निकै कम रहेको अनुमान गरेका छन्। वर्षा भए पनि पोहोर सालको जस्तै हुने अर्थात् फाट्टफुट्ट मात्र हुने आकलन उनीहरूले गरेका हुन्।

हिउँदको तापक्रम र वर्षाबारे प्रारम्भिक अनुमान गर्दै जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद्हरूले वर्षा पनि कम हुने र धेरैजसो भागमा सरदरभन्दा बढी न्यानो हुने अनुमान गरेका हुन्।

‘यस वर्ष पनि पोहर सालझैं धेरैजसो ठाउँमा हिउँदमा हिउँदे वर्षा हुने सम्भावना कम छ। भए पनि फाट्टफुट्ट र निकै कम वर्षा हुन्छ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘पोहर सालझैं यस वर्ष पनि धेरैजसो ठाउँमा हिउँदमा न्यानो हुने सम्भावना बढी छ। केही दिनबाहेक अधिकांश दिनमा चिसो याममा सरदरभन्दा बढी नै न्यानो हुनेछ।’

उनका अनुसार यस वर्ष हिउँदमा अधिकांश ठाउँमा अधिकतम तापक्रम सरदर तापक्रमभन्दा बढी हुनेछ। बिहीबार काठमाडौंको अधिकत तापक्रम १९.३ र न्यूनतम तापक्रम ९ डिग्री छ। अहिलेसम्म काठमाडौंमा सबैभन्दा चिसो सन् १९७८ जनवरी ११ तारेखमा मापन गरिएको थियो। त्यस दिन काठमाडौंमा चिसो माइनस ३.५ डिग्री मापन गरिएको थियो।

डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। जसअनुसार मंसिर १५ देखि माघको १५ गतेसम्मको अवधिक हिउँदे याम हो। मौसमविद्हरूका अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, त्यसबाट मानव जीवनमा घातक असर पार्न सक्छन् तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन्। चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन्।

हिउँद याममा बदली भएका बेला प्रदूषणको मात्रा बढी हुने र त्यो समय निकै खतरनाक पनि हुने उनीहरूको भनाइ छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्छ। विज्ञका अनुसार चिसो बढेका बेला विशेषगरी बिहान र बेलुका वायु प्रदूषण बढी हुन्छ।

काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलोका मसिना कण गुम्सिएरै हावाभित्र रहने पौडेलले बताए। वातावरणविद्हरू हिउँदभन्दा वर्षायाम जनस्वास्थ्यका लागि उपयुक्त हुने बताउँछन्। धुलोका कण वर्षासँगै हट्ने भएकाले वर्षायाम उपयुक्त हुने उनीहरूको भनाइ छ।

प्रकाशित: २१ मंसिर २०८२ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App