२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन्।

उक्त पहिरोबाट थप १८ घरपरिवार जोखिममा परेका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए।

'जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले अनुगमन गर्दा चर्किएको फेकण्डोको भिर जुनसुकै समयमा खसेर पहिरो जाने आँकलन गरेर उच्च जोखिममा रहेकाका गाईबस्तुसहित सामग्रीसमेत सारिएको छ', उनले भने, 'क्षति हुन नदिनका लागि सतर्कता अपनाइएको हो ।'

रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनको घरका सामग्रीसहित अन्य बसोबास गर्न थालेका अन्नपूर्ण गाउँपालिका-७ का वडाध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिए। केही दिनअघि भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनको टोलीले फेकण्डो भिरको निरीक्षण गरी गाउँपालिका र प्रशासनलाई जानकारी गराएका थिए।

सूचना पाएपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले जोखियुक्त क्षेत्रको निरीक्षण र निर्णय गरी भूगर्वविद्को टोलीमार्फत अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेका छन्। टोलीले ‘ड्रोन’ क्यामेराको प्रयोग गरी पहिरोको अध्ययन गरेको थियो। पहाडको शिरमा फेकण्डो भिर छ भने बीचमा रहेको जङ्गलमुनि दोसल्ले बस्ती छ।

दोसल्लेको फेदी कालीगण्डकी नदी किनारमा रघुगङ्गा गाउँपालिका-१ को तिप्ल्याङ बजार छ। दोसल्लेका ६९ वर्षीय जितबहादुर पुर्जाले बाल्यकाल र युवा अवस्थामा हिँडडुल गरेको उक्त पहाडमा यसअघि चिरा परेका नदेखेको बताए। 'हामी घाँसदाउरा र लेकबेँसी गर्दा फेकण्डोको भिरबाटै ओहोरदोहोर गर्दथ्यौँ', उनले भने,'अहिले पहाड चिराचिरा परेर खस्न थालेपछि त्रास सिर्जना भएको छ ।'

स्थानीयवासी रामचन्द्र पुर्जाले भिरबाट खसेको ढुङ्गा सिधै घर र आँगनमा आउने भएकाले सामान सारेर माथिल्लो दोसल्लेमा रहेको गोठमा बस्न थालेको बताए। पानी नपरेको दिनमा दिउँसोको समयमा सुन्तला बगैँचा गोडमेल गर्न आउने गरेको उनले बताए। यसअघि उक्त ठाउँबाट पहिरो खसेको थिएन।

यसपटक नयाँ पहिरो सिर्जना भएको छ। पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलको सुन्तला बगैँचा पनि जोखिममा परेको छ। पहिरो खसेमा तिप्ल्याङमा कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक र दोसल्ले हुँदै हिस्तान–राम्चे जोड्ने सडकमा पनि क्षति पुग्ने वडाध्यक्ष पुर्जाले बताए। 

प्रकाशित: २६ श्रावण २०८३ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App