१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

निम्सदाइको अन्तिम यात्रा

ब्रोड पिकको हिमपहिरोले रोकेको ‘नथिङ इज इम्पोसिबल’ को कथा

पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वकै १२ औँ अग्लो ब्रोड पिक हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको दुखद निधनले सिंगो नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुर्‍याएको छ।  

४३ वर्षीय पुर्जा र उनी आबद्ध १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीका सदस्यहरूको बिहीबार भएको दुःखद अवसानपछि इलाइट एक्सपेड लगायतले शनिबार पुष्टि गरेका थिए। गिनिज वर्ल्ड रेकर्ड्सले एक विशेष वक्तव्य जारी गर्दै उनको साहसिक खेल जीवन र अतुलनीय योगदानलाई गहिरो श्रद्धासाथ स्मरण गरेको छ। आफ्नो जीवनकालमा १८ वटा गिनिज वर्ल्ड रेकर्डहरू बनाएका निम्सदाइले मानव शरीरको सहनशीलता, मानसिक दृढता र शारीरिक क्षमताको सीमालाई नै पुनः परिभाषित गरिदिएका थिए।

सन् १९८३ मा म्याग्दीको विकट हिमाली गाउँ दानामा जन्मेका निर्मल पुर्जाको बाल्यकाल र प्रारम्भिक शिक्षा चितवनको मैदानीमा भएको थियो। पूर्व-सैनिक परिवारमा जन्मेका हुनाले उनी सानै उमेरदेखि अनुशासित, निडर र केही फरक एवं चुनौतीपूर्ण काम गर्ने तीव्र इच्छा राख्दथे। उनका पिता भारतीय सेनामा कार्यरत थिए भने आमा गृहणी हुन्। उनका तीन जना दाजुहरू बेलायती सेनाको प्रतिष्ठित गोरखा राइफल्समा आबद्ध रहेकाले उनले पनि सैन्य बाटो रोजेका थिए।

उनले बेलायती गोरखा सैनिककी छोरी सुची पुर्जासँग विवाह गरेका थिए। उनीहरूको एउटी छोरी (हिमानी) छिन्। पछिल्ला वर्षहरूमा उनको व्यावसायिक व्यस्तताका कारण परिवार बेलायत र नेपाल दुवैतिर समय बिताउँदै थियो । बेलायत बस्दै आए पनि आफ्नो माटोप्रतिको अगाध प्रेमका कारण उनले तीन वर्षअघि नेपाल सरकारबाट औपचारिक रूपमा नन-रेसिडेन्ट नेपाली (एनआरएन) नागरिकता समेत प्राप्त गरेका थिए।  

सन् २००३ मा मात्र १८ वर्षको उमेरमा ब्रिटिस गोरखा सेनामा छनोट भएसँगै पुर्जाको सैन्य जीवन सुरु भएको थियो। गोरखा राइफल्समा ६ वर्ष उत्कृष्ट र साहसिक सेवा गरेपछि उनले बेलायती सैन्य इतिहासमै एउटा ठूलो रेकर्ड राख्न सफल भएका थिए। उनी बेलायती शाही नौसेनाको अत्यन्तै कठिन र विश्वकै उत्कृष्ट मध्येको एक विशेष सैन्य एकाइ स्पेशल बोट सर्भिस (एसबीएस) मा प्रवेश पाउने पहिलो नेपाली र गोरखा सैनिक बन्न सफल भए। शीतकालीन युद्धकला, रणनीतिक गोताखोरी र काउन्टर-टेरोरिज्म जस्ता अत्यन्तै गोप्य एवं घातक सैन्य अभियानहरूमा उनले १० वर्ष बिताए।

यस विशेष सैन्य सेवामा रहँदा नै उनमा उच्च हिमाली भूभागमा काम गर्ने र हिमाल चढ्ने मोह जागृत भएको थियो। सन् २०१८ मा पर्वतारोहण क्षेत्रमा देखाएको असाधारण क्षमता र सैन्य सेवाका लागि बेलायतकी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाद्वारा उनलाई बेलायतको प्रतिष्ठित नागरिक सम्मान मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई) को उपाधिबाट सम्मानित गरिएको थियो। अन्ततः उच्च हिमाली अभियानहरूलाई पूर्ण समय दिन र नेपालको नाम विश्वभर फैलाउने अठोटका साथ उनले १६ वर्षको गौरवशाली सैन्य सेवाबाट स्वेच्छिक राजीनामा दिए।

निम्सदाइ एक असाधारण दृढ इच्छाशक्ति, निडर र दृढ संकल्पित व्यक्तित्वका धनी थिए। उनले स्थापित गरेको नथिङ इज इम्पोसिबलको मन्त्र विश्वभरका लाखौँ युवा र आरोहीहरूका लागि जीवन जिउने र चुनौतीहरूसँग लड्ने बलियो प्रेरणाको स्रोत बन्यो। उनलाई नजिकबाट चिन्नेहरू निम्सदाइ केवल एक पर्वतारोही मात्र नभएर एक कुशल नेतृत्वकर्ता, उद्धारकर्ता र मानवतावादी नेता भएको बताउँछन्।  

सन् २०१९ को अन्नपूर्ण आरोहणका क्रममा ४० घण्टासम्म अक्सिजन र पानी बिना हिउँमा अलपत्र परेका मलेसियाली आरोही चिन वुई किनको साहसिक उद्धार टोलीको नेतृत्व गरेर उनले आफ्नो परोपकारी भावना प्रदर्शन गरेका थिए।

त्यसको एक महिना नपुग्दै कञ्चनजंघा हिमालमा आफ्नो टोलीको अक्सिजन दिएर मृत्युको मुखमा परेका दुई जना भारतीय आरोहीको ज्यान बचाउने अथक प्रयास गरेका पुर्जाले सधैँ भन्ने गर्थे, ‘मेरा लागि यो अहंकारको कुरा होइन, यो मेरो मानवीय सिद्धान्त हो। आफूलाई पर्वतारोही भन्नेले यस्तो संकटमा परेका मानिसहरूलाई सहयोग नगर्नु असम्भव छ।’

यद्यपि, उनको छिटो र आक्रामक शैली तथा व्यावसायिक गतिविधिको कारण उनी कतिपय अवस्थामा अन्तर्राष्ट्रिय मिडिया र परम्परागत आरोहीहरूको आलोचनामा पनि परे। तर पनि, स्थानीय शेर्पा र आदिवासी पर्वतारोहीहरूलाई केवल ‘भरिया’ वा सहयोगीका रूपमा मात्र सीमित नराखेर विश्वमञ्चमा उनीहरूको हक-अधिकार, व्यावसायिक सम्मान र क्षमता स्थापित गराउन उनले खेलेको भूमिकालाई सधैं उच्च सम्मानका साथ हेरिन्छ।

सन् २०११ मा पहिलो पटक हिमालको अनुभव बटुलेका निम्सदाइले सन् २०१९ मा प्रोजेक्ट पोसिबल अन्तर्गत संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए, जसलाई पछि नेटफ्लिक्सको विश्वप्रसिद्ध वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ मा देखाइएको थियो। जनवरी २०२१ मा इतिहासमै पहिलो पटक हिउँदको कठिन समयमा के२ हिमाल आरोहण गर्ने १० सदस्यीय नेपाली टोलीको सफल नेतृत्व गर्नु उनको अर्को ऐतिहासिक सफलता थियो, जसमा उनले स्वयं पूरक अक्सिजन बिना आरोहण गरेर विश्वलाई चकित पारेका थिए

मृत्यु हुनुभन्दा ठीक केही दिनअघि मात्र उनले पाकिस्तानका सबै ५ वटा आठ हजार मिटरी हिमालहरू मात्र २६ दिनमा सफलतापूर्वक आरोहण गरेको जानकारी गराएका थिए । ब्रोड पिक हिमालको यो यात्रामा उनी विश्वका ती सबै १४ वटा अग्ला हिमालहरू दोस्रो पटक पूरक अक्सिजन बिना चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्ने तरखरमा थिए। यदी उनले ब्रोड पिकमा सफलता पाएका हुन्थे भने चो ओयु मात्र बाँकी थियो। यसका साथै उनले आफ्नो निम्सदाइ ब्रान्ड र फाउन्डेसनमार्फत पर्वतारोहण इतिहासकै सबैभन्दा महत्वाकांक्षी अभियान ह्याट-ट्रिक च्यालेन्ज (ती सबै १४ हिमालहरू तेस्रो पटक चढ्ने योजना) को परिकल्पना र तयारी गरिरहेका थिए।

निम्सदाइको निधनको खबरले विश्वभर गहिरो शोक छाएको छ। बेलायतका युवराज प्रिन्स विलियमले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘ब्रोड पिकको हिमपहिरोमा निर्मल पुर्जा र अन्यको दुःखद निधन सुनेर म साँच्चै दुःखी भएँ। निम्सले ब्रिटिस सशस्त्र बलमा विशिष्ट सेवा गरेपछि विश्वका महानतम पर्वतारोहीमध्ये एक बने र नेपाली आरोहीहरूलाई विश्वमञ्चमा चिनाए। असम्भव जस्तो लाग्ने कुराको निरन्तर खोज, उनको नम्रता र निःस्वार्थताले उनलाई साँच्चै अद्वितीय बनाएको थियो।’

प्रसिद्ध बेलायती साहसिक व्यक्तित्व बियर ग्रिल्सले इन्स्टाग्राममा लेखे, ‘विश्वभरका धेरै आरोहीहरूका लागि यो हृदयविदारक खबर हो, जसको यो अद्वितीय र उल्लेखनीय व्यक्तिसँग सम्बन्ध थियो। हामी तिमीलाई कहिल्यै बिर्सने छैनौं निम्स, र तिम्रो अविरल आत्मा।’ ग्रिल्ससँग निम्सदाइले २०२३ को फाइन्डिङ माइकल डकुमेन्टरीमा पनि काम गरेका थिए।

इटालियन महान पर्वतारोही रेनहोल्ड मेस्नरले पनि श्रद्धाञ्जली अर्पण गर्दै भने, ‘निम्सले साहस र जोशका साथ आफ्नो बाटो रोजे। बाँकी रहेको दुःख मात्र होइन, साँच्चै बाँचेको जीवनको स्मृति हो।’ बेलायतका रक्षा सचिव वेस स्ट्रिटिङ र अन्य अधिकारीहरूले पनि सैन्य पृष्ठभूमि र प्रेरणादायी जीवनको उल्लेख गर्दै शोक व्यक्त गरेका छन्। उनका दाजु कमल पुर्जाले ‘हरेक दिन तिमीलाई याद गर्नेछौं’ भन्दै भावुक पोस्ट गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि यो दुःखद घटना व्यापक चर्चाको विषय बन्यो। बीबीसी, द गार्डियन, नेशनल जियोग्राफिक, एपी, सीएनएन, न्युयोर्क टाइम्स, अल जजिरा, रोयटर्स, टाइम्स अफ इन्डिया, द इन्डियन एक्सप्रेस लगायतले निम्सदाइको निधनलाई ठूलो क्षतिका रूपमा उल्लेख गरेका छन्। नेशनल जियोग्राफिकले ‘हाउ निम्स पुर्जाज ब्रोड पिक क्लाइम्ब एन्डेड इन डेडली डिजास्टर’ शीर्षकमा घटनाक्रम विश्लेषण गर्दै उनको करियर र टोलीको विवरण दिएको छ।

बीबीसी र द गार्डियन ले उनको सैन्य पृष्ठभूमि, १४ पिक रेकर्ड र नेटफ्लिक्स डकुमेन्टरीको उल्लेख गर्दै विश्वव्यापी प्रभावबारे चर्चा गरेका छन्। उनले शेर्पा समुदायलाई ‘भरिया’ बाट मुख्य आरोहीका रूपमा स्थापित गर्न खेलेको भूमिका र नथिङ इज इम्पोसिबलको दर्शनलाई जोड दिइएको कुरा हरेक अखबारमा चर्चाको विषय बनेको छ।  

नेपालमा पनि प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै राजनीतिक दलका नेतृत्वले उनलाई स्मरण गरेका छन्। राजनीतिक नेतृत्व मात्र नभएर प्रहरी र प्रशासन क्षेत्रले पनि निम्सदाइको निधनमा शोक व्यक्त गरेका छन्। उनी सधैं नेपालमा साहसिक पर्यटन र खेलकुदमा उज्ज्वल भविष्य छ भन्ने गर्थे। यसबाट नेपालमा ठूलो आर्थिक विकास गर्न सकिने भन्दै नेपालमा लगानीको वातावरण बनाउन हरेक सरकारसँग अपिल गर्थे। उनको भौतिक शरीर हामीसँग नभए पनि साहस, समर्पण र योगदानको इतिहास आउँदो पुस्ताका लागि सधैं प्रेरणादायी रहिरहनेछ।

ब्रोड पिकको विनाशकारी हिमपहिरोले महाअभियानलाई बिचमै रोकिदिएको छ। तर उनले विश्वमञ्चमा स्थापित गरेको नेपाली पहिचान र पर्वतारोहणको साहसिक इतिहास आगामी पुस्ताका लागि सधैं अमर रहने कुरामा कुनै शंका छैन।

प्रकाशित: १७ श्रावण २०८३ १९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App